नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वभाविक दौडधूप
Friday, February 3rd, 2017, 9:30 am
amit
काठमाडौः नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ । दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ तीव्र पारेका हुन् ।
नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले अवकाश पाएपछि ती दुई संगठनले फागुन ३ मा नयाँ महानिरीक्षक पाउनेछन् । दुवै संगठनको महानिरीक्षक बन्न हुँदै गरेका अस्वाभाविक दौड रोक्नुसट्टा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिले आईजीपी बनाउने खेलमा लागेका व्यक्तिहरूलाई बिचौलिया बनाएर ‘सौदाबाजी’ गरिरहेको स्रोत बताउँछ । त्यसका लागि दाहाल र निधिका पारिवारिक सदस्यहरू नै सक्रिय रहेको स्रोतको दाबी छ ।
सशस्त्रमा भन्दा नेपाल प्रहरीमा भावी प्रहरी प्रमुख को होला भन्ने विषयले बढी चासो पाउँछ । आखिर किन हुन्छ प्रहरी प्रमुख बन्न यत्रो रस्साकस्सी र अस्वाभाविक चलखेल ? पूर्वगृहसचिव गोविन्द कुसुमका अनुसार महानिरीक्षक बन्न मूलतः तीनवटा कारणले आकर्षित गर्छः पहिलो, आफूले काम गर्दै आएको संगठनको प्रमुख बन्ने अवसर, दोस्रो ‘पावर इन्जोय’ र तेस्रो अवकाशपछिको सामाजिक प्रतिष्ठा । उनले अन्नपूर्णसँग भने, ‘यी तीनबाहेक अन्य कारण संगठन प्रमुखको कार्यक्षमता र पारदर्शितामा भर पर्छ ।’
नेपाल प्रहरीका डीआईजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीमध्ये एकजना आईजीपी बन्नेछन् । सबै अतिरिक्त महानिरीक्षक (एआईजी) ले आईजीपी अर्यालसँगै अनिवार्य अवकाश पाउने भएकाले चारमध्ये एकले डीआईजीबाट सीधै प्रहरी महानिरीक्षक बन्ने सौभाग्य पाउनेछन् । सशस्त्रमा भने एआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझामध्येबाट आईजीपी हुनेछन् । नेपाल प्रहरीका डीआईजी सिलवाल र सशस्त्रका एआईजी श्रेष्ठ पहिलो बरियतामा छन् ।
‘बहुदल आएपछिका कुनै गृहमन्त्रीले प्रहरीलाई चेन अफ कमान्डमा राख्न सकेका छैनन् । आईजीपीहरू गृहमन्त्रीसँग झगडा गरेर बस्छन्’, एक पूर्वमन्त्रीले भने, ‘अहिलेका प्रहरीमा न संस्कार छ र, न त अनुशासन । जसले जे गरे पनि हुन्छ ।’ ती मन्त्रीका अनुसार राजाको शासनकालमा आईजी नियुक्ति पद्धतिअनुसारै हुन्थ्यो । सम्बन्धित मन्त्रीको देखिने हस्तक्षेप हुँदैनथ्यो । प्रजातन्त्र बहालीपछि राजनीतिक दबाब र प्रभावले प्रहरी संगठन राजनीतिक दलदलमा फसे ।