विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा
Wednesday, July 14th, 2021, 6:35 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, ३० असार
बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका छन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो ।
२०६६ साल चैत २९ गते मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नं.३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषय थियो । सो प्रस्ताव तयार पार्नेमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात थिए भने उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले त्यसलाई स्वीकृत गरेका थिए । नक्कली मोही खडा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको उनी लगायतमाथि अख्तियारको आरोप छ । समरजंग कम्पनी, राजकुलो र बाटोको जग्गा दिने भनेर मन्त्रिपरिषदबाट निणर्य भएको थियो । गच्छदारमाथि नक्कली मोहीको विवरण समावेश गरेको अनि क्षेत्राधिकार अनुसार पनि नमिल्ने प्रस्ताव मन्त्रिपरिषद पठाएको भन्ने आरोप थियो । अख्तियारले ‘क्षेत्राधिकार नभएको’ विषयलाई किन मन्त्रिपरिषदमा लगेको भनी गच्छादारमाथि प्रश्न उठाएको छ ।