संघले व्यवसायीको २ लाखको सामूहिक दुर्घटना बिमा गर्ने
Wednesday, July 14th, 2021, 8:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० असार
नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि २ लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गर्ने निणर्य गरेको छ । संघमा आवद्ध सदस्यहरुका लागि आगामी आव २०७८/०७९ साउन १ गतेदेखि नयाँ सदस्यता लिने तथा नविकरण गर्ने सदस्यताहरुका हकमा सामूहिक दुर्घटना बिमा वापत दुई लाखको बिमा गर्ने निणर्य गरेको संघका महासचिव चिरन्जीवी ओलीले जानकारी दिए । दुर्घटनापश्चात् औषाधी उपचार खर्च वापत एक पटकमा अधिकतम् बिस हजार रुपैयाँ बराबरको औषाधी उपचार खर्च दाबी गर्न पाउने गरी बिमाको व्यवस्था गर्ने संघले निणर्य गरेको उनले बताए । महासचिव ओलीका अनुसार मोफसलका संस्थाहरुमा सम्भवतः पहिलो पटक सामूहिक बिमाको व्यवस्था हुन लागेको हो ।
अध्यक्ष अब्दुल वाहिद मन्सुरीकोे अध्यक्षतामा बुधवार बसेको संघको बैठकले वीमाका साथै संघमा हुने नविकरण जस्ता कामहरुमा छुट दिने निणर्यसमेत गरेको छ । महासचिव ओलीका अनुसार संघमा आवद्ध सदस्यहरुको हकमा कोभिड-१९ अतिप्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन व्यवसाय, चलचित्र उद्योग, हस्तकला उद्योग, विज्ञापन सेवा, टेलरिङ, ब्यूटीपार्लर, हेल्थ क्लब जस्ता व्यवसायले श्रावण १ गते देखि संघको प्रवेश र नविकरण शुल्कमा ७५ प्रतिशत छुट दिने निणर्य गरिएको छ । संघले अन्य उद्योगी, व्यवसायीहरुका हकमा श्रावण १ गतेदेखि असोज मसान्तसम्म ३५ प्रतिशतसम्म प्रवेश र नविकरण शुल्कमा छुट दिने भएको छ ।
अध्यक्ष मन्सुरीले नविकरण छुट र वीमाबाट उद्योगी, व्यवसायीले राहात महसुस गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भइपरी आउने जोखिमको अन्त्य गर्नका लागि बिमा प्रभावकारी हुने उल्लेख बताए ।