नमुना सहकारीको नमुना काम
Wednesday, July 14th, 2021, 9:40 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, ३० असार
स्थापनाको डेढ दशक समय एउटा संस्थाका लागि गर्वको विषय हो । संस्था स्थापना गरेर हुकाईरहेका ‘लिडर’ हरुका लागि भने यो समय त्यति धेरै लाग्दैन । टोलका दिदिबहिनीहरु मिलेर स्थापना गरेको हिजो जस्तै लाग्छ, तर नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय नजिकै रहेको नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १४ वर्षमा पाइला टेक्दैछ ।
नेपालगन्जको सल्यानीबंगला नजिकै रहेको नमुना सहकारी सीप सिकाउने कुरामा बढी केन्द्रित छ । २०६५ साल साउन १५ गते निम्न आय भएका महिलाको समुहले नमुना सहकारीको स्थापना गरेको हो । सुरुआतमा २८ जना महिलाको समुहले १४ हजार पुँजीबाट नमुना सहकारीको परिकल्पनाको आरम्भ भएको थियो । १४ वर्ष पुग्न लाग्दा सहकारीको कुल पुँजी करिब १ करोड ५० लाख सम्म पुगिसकेको छ । तर यो आर्थिक वृद्धिदर सन्तोषजनक भने होइन ।
सहकारीले आर्थिक बृद्धिद्धर भन्दा पनि सदस्यको जीवनस्तर र आर्थिक स्तरलाई माथि उकास्ने कुरालाई प्राथमिकतामा राखेको बताउँछिन् नमुना बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सुनिता बोहरा । लगातार तीन कार्यकाल उनले सहकारीको अध्यक्ष भएर नेतृत्व गरिसकेकी छिन । सहकारीको संस्थापक सदस्य समेत रहेकी बोहरा सहकारीले आर्थिक भन्दा सदस्यको क्षमता विकास, नेतृत्व, सीप विकासमा केन्द्रित भएको बताउँछिन ।
सुरुआतमा बोहरा सहितका महिलाहरुले महिला मिलिजुली समुहको स्थापना गरेर सीप सिक्ने र सिकाउने काम गरिरहेका थिए ।
विभिन्न व्यावसायिक सीप सिक्ने महिलाहरुको रुची बढ्दै गयो । यसरी समूहसँग आवद्ध हुनेको संख्या बढदै गयो । सीप सिकेर मात्र भएन व्यावसाय पनि गर्नु पर्ने आवश्यकता उनीहरुमा महसुस भयो । महिला मिलिजुली समूहले आर्थिक कारोबार र लगानी गर्न नमिल्ने । आर्थिक कारोबार गर्नको लागि नमुना सहकारीको जन्म भएको बताउँछिन् अध्यक्ष रोकाय । सुरुआतमा सहकारीले भागेको चुनौति जस्तै सुनिताले थुप्रै समस्याहरु जुधेकी छिन् ।
सुदुरपश्चिम दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा जन्मिएकी सुनिता विवाहपछि नेपालगन्ज आइन् । उनका श्रीमानले नेपालगन्जमै जागिर गर्ने भएकोले उनी नेपालगन्जकी बासिन्दा बनिन् । सुरुआतमा यहाँको भाषा, बोली र रहनसहन सिक्न निकै कठिन परेको अनुभव सुनाउँछिन् सुनिता । पछि बिस्तारै महिला समुह र सहकारीले आफनो व्यक्तिगत विकासमा पनि धेरै योगदान गरेको उनको अनुभव छ । आफूजस्तै महिलाहरुलाई समेट्दै सहकारीलाई अगाडी बढाउँदै आएकी सुनिता भन्छिन्, ॅअवसर पाए महिला दिदीबहिनीले पुरुष सरह काम गर्न सक्छन् । जिम्मेवारी निर्वाह गर्न सक्छन् । हाम्रो समुहमा मधेशी, मुस्लिम, थारुलगायत सबै समुदाय र धर्मका महिलाहरु छन् । उनीहरुले आफनो घर परिवार र समाजको आर्थिक स्तर उकास्नमा सहयोग गरिरहेका छन् ।’
समुदायमा आधारित नमुना सहकारीको अर्को सुन्दर पक्ष भनेको महिलाको नेतृत्व र सेयर सदस्य पनि करिब ९२ प्रतिशत महिला नै छन् । अहिले २ सय ५० जना सेयर सदस्य छन् । एउटा सेयर संख्या बराबर ५ सय रुपैयाँ छ । सहकारीका सबै सदस्य कम्तिमा पाँच वटा सेयरको सदस्य छन् ।
सहकारीका व्यवस्थापन प्रमुख जगत कोइरालाका अनुसार सहकारीले आफना सदस्यहरुलाई १४.७५ प्रतिसत ब्याजदरमा ऋण लगानी गर्ने गर्छ भने बचतको ८.७५ प्रतिसत व्याज दिने गर्छ ।
अहिले सहकारीले ४८ लाख रकम ऋण सहकारीका सदस्यलाई दिएको छ । जसले उनीहरु विभिन्न स-साना व्यवसाय संचालन गरिरहेका छन् । बचतलाई बढाउन सहकारीले तीन किसिमका खाता संचालन गरिरहेको छ- नियमित, ऐच्छिक र बाल- किशोर/किशोरी खाता । सहकारीले सामान्य धितोमा ५ लाख रुपैयाँ सम्म र बिना धितो १ लाख ५० हजार सम्म ऋण आफना सदस्यलाई दिने गरेको छ ।
नमुना सहकारीले समुदायका महिला दिदीबहिनीलाई चर्को ब्याजमा ऋण लिनु पर्ने बाध्यतालाई कम गरेको बताउँछन् सहकारीका व्यवस्थापक जगत । प्रगतिका पाइला बिस्तारै अगाडी बढदै गरेपनि सहकारीले कमाएको मुख्य उपलब्धी भनेको महिलालाई सीपमुलक क्षेत्रमा आत्मनिर्भर बनाउनमा अमुल्य योगदान गर्दै आएको छ । सीप सिके आर्थिक आर्जन पनि बिस्तारै बढ्दै जाने अनुभव गरिसकेका छन् नमुना सहकारीका सदस्यहरुले । तर सहकारीका चुनौति भने अझै सकिएका छैनन्, बढ्दैछन् । अबको चुनौति भनेको नाम जस्तै नमुना सहकारी बन्ने नेपालगन्जको ।