बाँके र बर्दियाका साढे २८ सय विपन्न परिवारले पाए घर
Thursday, July 15th, 2021, 10:53 am
Kalpristha
चालु आर्थिक वर्षमा थप दुई सय सात लाभग्राहीसँग घर निर्माणको सम्झौता गर्ने र कुल आठ सय पाँच घरहरु निर्माण गर्ने योजना थियो । जसमध्ये सात सय १६ घर निर्माण भएका शहरी विकास तथा भवन कार्यालय बाँकेले जानकारी दिएको छ । जुन कुल सम्झौताको ८८.६ प्रतिशत हो ।
वीरेन्द्र जैसी
नेपालगन्ज, २९ असार
नेपालगन्ज उप-महानगरपालिका-१३ की जाना खटिक एकल महिला हन् । उनका लागि पक्की घर बनाउनु फलामको च्यूरा चपाउनुजत्तिकै अप्ठ्यारो हुने थियो । तर लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यत्रम अन्तर्गत घर निर्माण भएपनि उनको ठूलो सपना पूरा भएको छ । उनका एक छोरा र एक छोरीसहितको परिवार अब तीन कोठा, एक बरण्डा र टिनको छानासहितको घरमा बस्न पाएका छन् । ॅमेरो लागि यो ठूलो सहयोग हो । यस्तो राम्रो घर कहिल्यै बनाउन सक्ने थिइन । पहिले वर्षामा चुहिने घरमा बस्नुपथ्र्यो अब त त्यस्तो समस्या भोग्नु नपर्ने भो,’ खटिकले भनिन् । जानाजस्तै उनको टोलमा तीनवटा घर जनता आवास कार्यक्रम अन्तर्गत बनेका छन् । पहिले खरले छाएको माटाको भित्ता भएको घरमा बस्ने उनीहरु अब पक्की भित्ता भएको सुरक्षित घरमा बस्न पाएका छन् ।
जाना र उनका छिमेकीजस्तै जनता आवास कार्यक्रमबाट बाँके र बर्दियाका दुई हजार आठ सय ४३ विपन्न परिवारले पक्की घर पाएका छन् । २०७३-७४ पछि गत आर्थिक वर्षसम्म दुई हजार एक सय २७ घरहरु निर्माण भएका थिए । जसमध्ये एक हजार एक सय एक घरहरु बाँकेमा निर्माण भएका थिए भने एक हजार २७ घरहरु बर्दियामा निर्माण भएका थिए । चालु आर्थिक वर्षमा दुवै जिल्लामा थप सात सय १६ घरहरु निर्माण भएका शहरी विकास तथा भवन कार्यालय बाँकेले जनाएको छ ।
आर्थिक वर्ष २०७३-७४ बाट सुरु भएको कार्यक्रम सुरुको आर्थिक वर्षमा संघीय सरकार अन्तर्गत संचालन भएको थियो । त्यसपछिको एक वर्ष रोकिएको कार्यक्रम २०७५-७६ बाट प्रदेश सरकार अन्तर्गत संचालन भइरहेको छ । बाँके र बर्दियामा शहरी विकास तथा भवन कार्यालय बाँकेले कार्यक्रम संचालन गरिरहेको छ ।

यस वर्ष कार्यक्रम कार्यान्वयन सुध्रियो
तीन कोठा, एक बरण्डा र टिनको छानासहितको घर निर्माण गर्नुपर्यो भने बढीमा कति समय लाग्ला ? तीन महिनादेखि ६ महिना ? तर, जनता आवास कार्यक्रम अन्तर्गतका घरहरु एकवर्षभित्र निर्माण सम्पन्न हुन नसकेर अर्को वर्षसम्म योजना सर्ने गरेका थिए । यसअघिका वर्षमा सम्झौताको आधाभन्दा कम मात्रै घरहरु एक वर्षभित्र निर्माण सम्पन्न हुने गरेका थिए ।
आर्थिक वर्ष २०७३-७४ मा बाँके बर्दियामा कुल एक हजार नौ सय ३६ लाभग्राहीसँग घर बनाउने सम्झौता भएकोमा बाँकेमा चार ४४ र बर्दियामा ६ सय ६३ घरहरु गरि एक हजार एक सय सात घर निर्माण भएका थिए । आर्थिक वर्ष २०७५-७६ मा आर्थिक वर्ष २०७३-७४ मा निर्माण हुन नसकेका र थप तीन सय ९९ लाभग्राही सँग सम्झौता गरी एक हजार दुई सय २८ घरहरु निर्माण थालिएपनि ६ सय चार घरमात्रै निर्माण भएका थिए । जुन क्रमागत घरहरुको संख्याभन्दा पनि दुइ सय २५ ले कम र कुल सम्झौताको ४९ प्रतिशत मात्रै संख्या हो ।
आर्थिक वर्ष २०७६-७७ मा सोभन्दा अघिल्लो आर्थिक वर्षमा निर्माण हुन नसकेका ६ सय सात घरहरुसँगै नयाँ चार सय ८ लाभग्राहीसँग सम्झौता गरि कुल एक हजार १५ घरहरु निर्माणको योजना रहेको थियो । सो वर्षपनि क्रमागतभन्दा एक सय ९० कम अर्थात् कुल योजना संख्याको ४१ प्रतिशत संख्या हो । आर्थात् दुवै आर्थिक वर्षमा कुल योजनाको आधाभन्दा बढी योजना निर्माण हुन सकेनन् ।
यस वर्ष भने जनता आवास कार्यक्रमको प्रगति बाँके बर्दियामा सुध्रिएको छ । चालु आर्थिक वर्ष २०७७-७८ मा पनि अघिल्लो आर्थिक वर्षमा निर्माण हुन नसकेका पाँच सय ९८ घरहरु क्रमागत योजनाअन्तर्गत सन्चालनमा थिए । चालु आर्थिक वर्षमा थप दुई सय सात लाभग्राहीसँग घर निर्माणको सम्झौता गर्ने र कुल आठ सय पाँच घरहरु निर्माण गर्ने योजना थियो । जसमध्ये सात सय १६ घर निर्माण भएका शहरी विकास तथा भवन कार्यालय बाँकेले जानकारी दिएको छ । जुन कुल सम्झौताको ८८.६ प्रतिशत हो ।
कार्यालयका प्रमुख इन्जिनियर राम आश्रय शाहले कोरोना महामारीको दोस्रो लहरकाबिच पनि आफूहरुले कार्यक्रमको कार्यान्वयनमा इमान्दारीपूवर्क काम गरेकोले योजनाहरु सफल भएको बताए । यसका साथै कार्याक्रमको कार्यान्वयनमा चुस्तताले पनि धेरै योजनाहरु पूरा गर्न सकिएको उनको भनाइ छ । ॅहामीले योजनाको अनुगमन र सहजीकरणलाई चुस्त बनाएका छौँ । लाभग्राहीको बैंक खातामै सिधै किस्ता जम्मा हुन्छ । पहिलेजस्तो किस्ताका लागि कार्यालयमा धाउनुपर्ने अवस्था पनि अहिले छैन,’ शाहले भने । यति हुँदा हुँदै पनि सम्झौता भएका ८९ घरहरु निर्माण हुन बाँकी नै रहे । शाहले बाँकी योजनाहरु अधिकांश संघीय सरकाकरबाट आयोजना कार्यान्वयन हुँदाका बखतका योजनाहरु रहेको बताए । उनले भने ॅत्यतिबेला सम्झौता भएका कतिपय व्यक्तिहरु सम्पर्कमै छैनन् । कतिले मापदण्ड पूरा गर्न सकेका छैनन् त्यसकारण पेण्डिङमा छन् ।’