चालु आर्थिक वर्षमा कुल बजेटको ८० प्रतिशत खर्च
Thursday, July 15th, 2021, 2:03 pm
Kalpristha
काठमाडौं, ३१ असार, काठमाडौं-
चालु आर्थिक वर्षको १२ महिनामा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ खर्च गरेको छ । जुन विनियोजित बजेटको ८० प्रतिशत मात्रै हो । तत्कालीन अर्थमनत्री डा. युवराज खतिवडाले अघिल्लो आर्थिक वर्षको तुलनामा ५७ अर्ब रुपैयाँ बजेट घटाएर प्रस्तुत गरेपनि सरकारको खर्च क्षमता बढ्न सकेन । सरकाले चालु वर्षको लागि विनियोजन गरेको रकममध्ये असारमा मात्रै २८ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब रुपैयाँ खर्च भएको छ, जसमध्ये पुँजीगत खर्च मात्रै ८४ अर्ब रुपैयाँ छ ।
महालेखा रीक्षकको कार्यालयको तथ्यांकअनुसार चालु वर्षमा चालु तथा प्रशासनिकतर्फ ८ खर्ब ५१ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तो रकम ९ खर्ब ४८ अर्ब तोकिएकोमा जम्मा ८९ प्रतिशत खर्च भएको हो । पुँजीगत तथा विकासतर्फ २ खर्ब २७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । विकास खर्चको लागि ३ खर्ब ५२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको थियो । अन्तिम दिन १० अर्ब रुपैयाँ खर्च गर्दै ६४ प्रतिशत खर्च भएको छ ।
वित्तीय व्यवस्थापनतर्फ भने जम्मा ५८ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले वित्तीय व्यवस्थापनका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ बजेट तोकेकोमा १ खर्ब ९७ करोड रुपैयाँ मात्रै खर्च भएको छ । आर्थिक वर्षको अन्तिम दिन हुने भुक्तानी पारदर्शी नदेखिएपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमार्फत कडाइ गर्ने व्यवस्था गरिएको छ ।