फोहर खरिदका लागि ६ लाख, २१ हजारमात्र खर्च
Thursday, July 15th, 2021, 6:36 pm
Kalpristha
उप–महानगरपालिकाले प्लाष्ट्रिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रति केजी ५ रुपैयाँ, सुर्तीजन्य प्लाष्ट्रिको फोहोर प्रति केजी दुई रुपैयाँ, गत्ता, कार्पीसहित बर्गीकरण अनुसारका फोहोरलाई १० देखि २० रुपैयाँ प्रति किलोमा खरिद गर्ने गरिएको छ ।
लिलाधर वली
दाङ, ३१ असार
घोराही उप–महानगरपालिकाले चालू आर्थिक वर्ष २०७७÷०७८ मा २१ हजार सात सय २४ रुपैयाँको फोहर खरिद गरेको छ । उप–महानगरपालिकाले चालू आर्थिक वर्षबाट फोहर खरिद सुरु गरेको हो ।
उप–महानगरपालिकाको फोहर खरिद गर्ने कार्यक्रमअन्र्तगत चालू आर्थिक वर्षमा २१ हजार सात सय २४ रुपैयाँको फोहोर खरिद गरिएको घोराही उप–महानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उप–महानगरपालिकाले चालू आर्थिक वर्षमा ६ लाख वजेट विनियोजन गरेको भएपनि यसवर्ष करिब २१ हजार रुपैयाँको मात्र फोहर संकलन गरिएको उनले बताए ।
उप–महानगरपालिकाले नगरवासीहरुले फोहर जम्मा गर्न आग्रह गरेपनि नगरवासीले नगरेकै कारण बाँकी रकमबाट खरिद गर्न नसकिएको उनले बताए । ‘उप–महानगरपालिकाले नगरवासीलाई केही महिना अघि गल्ने र नगल्ने फोहर छुट्यार राख्न आग्रह गरेको थियो । तर नगरवासीले फोहोर जम्मा गरेर नराखेर गाडीमा हालिदिने गर्नु भएको रहेछ’, शाखा प्रमुख अधिकारीले भने, ‘जसले गर्दा बजेट ६ लाख छुट्याएपनि उक्त रकमको फोहर संकलन गर्न सकेनौ ।’ पहिलोपटक फोहर खरिद गर्न सुरु गरेकाले आगामी दिनमा नगरवासीले फोहर छुट्याएर राख्ने उनी बताउँछन् ।
नगरपालिकाले फोहर खरिद बारेमा टोल–टोलसम्म जानकारीसमेत गराउने काम गरिरहेको समेत उनले बताए । ‘फोहर बिक्री गरेर पैसा पाउने नयाँ कार्यक्रम भएकाले नागरिकले चासो नदिएको हुन सक्छ । कतिपय विश्वास नगरेर पनि राख्नु भएन । हामीले खरिद गर्न सुरु गरेकाले अव राख्नुहुनेछ,’ अधिकारीले भने ।
यस वर्ष घोराहीको बस पार्क, दह तथा रामपुर क्षेत्रमाबाट फोहोर खरिद गरिएको अधिकारी बताए । अन्य क्षेत्रशाट खरिद गर्न नबोलाएको कारण खरिद हुन नसकेको हो ।
उप–महानगरपालिकाले गएको बैशाख महिनादेखि फोहोर खरिद सुरु गरेको हो । फोहोरलाई मोहर बनाउने अभियानअन्तर्गत फोहोर वस्तु खरिद गर्न सुरु गरिएको घोराही उप–महानगरपालिकाले जनाएको छ । उप–महानगरपालिकाले प्लाष्ट्रिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रति केजी ५ रुपैयाँ, सुर्तीजन्य प्लाष्ट्रिको फोहोर प्रति केजी दुई रुपैयाँ, गत्ता, कार्पीसहित बर्गीकरण अनुसारका फोहोरलाई १० देखि २० रुपैयाँ प्रति किलोमा खरिद गर्ने गरिएको छ ।
यसरी खरिद गरिएको गल्ने फोहोरलाई ल्याण्डफिल साइटमा रहेको बायो ग्याँसमा प्रयोग गरिने र नगल्ने फोहोलाई उद्योगहरुसँग समन्वय गरेर बिक्री गरिने सरसफाइ शाखा प्रम्ुख अधिकारीले बताएका छन् । उनका अनुसार नगल्ने फोहोरहरु विशेष गरी प्लाष्ट्रिक र सिसाका वस्तुहरु उद्योगमा पठाइने छ ।
अघिल्लो वर्षदेखि नै फोहोर खरिद गर्ने योजना गरे पनि कोभिड–१९ को सङक्रमणको कारण सरकारले गरेको लकडाउनको कारण अघिल्लो वर्ष यस प्रकारको कार्यक्रम सुरु हुन नसकेको उप–महानगरपालिकाले जनाएको छ । फोहोर टोल–टोलसम्म पुगेर फोहोर खरिद गर्ने गरिने अधिकारी बताउछन् ।
उप–महानगरपालिकाले टोलटोलसम्म सचेतना फैलाउनका लागि ३ जना सरसफाइ स्वयमसेवकसमेत परिचालन गरिएको थियो । चैत महिनाबाट स्वयसेवकहरु परिचालन गरिएपनि कोभिडका कारण टोल–टोलमा पुग्न समस्या भएको उप–महानगरपालिकाले जनाएको छ ।
फोहोर नगरपालिकाले खरिद गरि दिने भएपनि नगरवासीहरुले जताततै फोहोर नफाल्ने नगपालिकाको अपेक्षा रहेको छ ।
‘फोहोर पनि बिक्री गरेर पैसा आउने भएपछि जताजतै फोहोर हुने छैन’, शाखा प्रमुख अधिकारीले भने, ‘फोहर व्यवस्थापन घरबाटै हुन थालेपछि बजारमा प्रदुशन कम हुने विश्वास रहेको छ ।’ सवारीका साधनले गाडीवाट फोहर फाल्न नदिएर निश्चित स्थानमा फोहोर जम्मा गरेर नगरपालिकालाइ बिक्री गर्ने सक्ने छन् ।