सत्ता पक्षले नै बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र
Thursday, July 15th, 2021, 6:47 pm
Kalpristha
कालपृष्ठ डेस्क
बुटवल,३१ असार
सत्तापक्षले नै बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख पूणर्बहादुर घर्तिको निर्देशन अनुसार सूचना टाँस गरी शुक्रबार १ बजेसम्मका लागि स्थगित प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बिहीबारको कार्यसूचि अनुसार बजेट निणर्यार्थ पेश हुनुगावै सत्तापक्षले सदन बहिस्कार गरेपछि आजको बैठक रोकिएको थियो ।
सत्ता पक्षले नै प्रदेश सभा बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र परेको छ । बजेटमाथिको छलफल सकिएर सभामुखले निणर्यार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका थिए । त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले वजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसंग अनुरोध गरेका थिए । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पनि दलहरुबिच सहमति कायम गरी बजेट पारित गर्नका लागि छलफलका लागि समय मागेका थिए । त्यसका लागि विपक्षि गठबन्धनले सहमति दिन मानेनन् । त्यसपछि सत्तापक्षका सांसदहरु बैठक छाडेर बाहिरिएका थिए ।
सदनमा बोल्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले वजेट अवैध भएकाले पारित नहुने बताएका थिए । विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निणर्य गरेका थिए ।
सरकारको पक्षमा बहुमत नपुग्ने भएका कारण सत्तापक्षाका सांसद वैठकबाट बाहिरिएको विपक्षी गठवन्धनले बताएको छ । ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ जना सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख सहित १९, जसपाका ३ जना र राष्टिय जनमोर्चाका १ जना गरी ४२ जना छन् ।