मध्यरातमा लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
Friday, July 16th, 2021, 10:31 am
Kalpristha
कालपृष्ठ डेस्क, बुटवल, १ साउन-
बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए ।
बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद बैठक छाडेर हिंडेका थिए । त्यसपछि सभामुख पूणर्बहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको छ ।
बजेट पारित नभएकाले शुक्रबारदेखि लुम्बिनी प्रदेशमा राज्यकोषबाट कुनै पनि रकम खर्च गर्न मिल्दैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।
लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । उनीविरुद्ध विपक्षी गठबन्धनले पटक-पटक अविश्वास प्रस्ताव दर्ता गराए पनि उनले छल्दै आएका छन् ।