६० वर्ष पुगेका स्वयमसेविकाको उप-महानगरपालिकाद्धारा विदाई
Friday, July 16th, 2021, 5:32 pm
Kalpristha
नेपालगञ्ज, साउन १ गते
नेपालगञ्ज उपमहानगरपालिकामा ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान सहित विदाई गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मानसहित विदाईका लागि संघीय सरकारले २० हजार रुपिया मात्रै उपलब्ध गराएकोमा उप-महानगरपालिकाले ३० हजार थप गरि ५० हजार उपलब्ध गराइएको हो । नेपालगञ्जमा २०१ जना महिला स्वास्थ्य स्वयमसेविका रहेकोमा ६० वर्ष उमेर पुरा भएका ३३ जनालाई शुक्रबार औपचारिक विदाई गरिएको छ ।
शुक्रबार मेयर डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जनही नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानुससहित विदाई गरे ।
विदाई गर्दै मेयर राणाले ६० वर्ष पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले हालसम्म पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको बताए । महिला स्वास्थ्य स्वयमसेविका नारायणी रुपाखेती, गीता राणा लगायतले आफुहरुले लामो समयसम्म सेवा गरेपनि विदाई हुनेक्रममा सरकारबाट प्रर्याप्त सहयोग नपाएको गुनासो गरेका थिए ।