नेपालगन्जबाट कोरा यात्रा हुने
Friday, July 16th, 2021, 8:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ साउन
नेपालगन्ज साइक्लीङ क्लबको आयोजनामा शनिबार कोरा २०२१ प्रतियोगिता हुने भएको छ । साइकल यात्रामार्फत् बाँकेका विभिन्न धार्मिक स्थलको परिक्रमा गर्ने उदेश्यले कार्यत्रम आयोजना गरिएको कोरा संयोजक लवराज श्रेष्ठले जानकारी दिए । कोरा विश्वभरका साइकल यात्रीहरुले एकैपटक भाग लिने यात्रा हो । कोरा तिब्बती भाषाको शब्द हो र यसको अर्थ धार्मिक स्थलहरुको परिक्रमा हुन्छ । परिक्रमा सहभागी हुनेहरुले आफ्नो लागि आफै यति दुरी पार गर्छु भनेर चुनौति तय गर्छन् र उक्त दुरी पार गर्छन् । उक्त यात्राका क्रममा विभिन्न धार्मिक र सामाजिक काम गर्ने पनि उदेश्य राखिएको हुन्छ । नेपालका प्रमुख सहरमा पनि साइकल यात्रीहरु एकैदिन यात्रमा निस्कन्छन् । शनिबार पश्चिम नेपालका नेपालगन्जसहित, जुम्ला, दाङ, धनगढी लगायतका सहरबाट पनि कोरा यात्रा गरिँदै छ ।
बाँकेमा नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु हुने कोरामा एक सय देखि एक सय ५० जना साइकल यात्रीहरु सहभागी हुने कोरा संयोजक श्रेष्ठले जानकारी दिए । उनीहरुलाई नेपालगन्ज साइक्लिङ क्लबले संयोजन गरेको छ । सहभागीहरुलाई क्लबले रजिस्ट्रेसन गरेर कोराको टिसर्ट प्रदान गर्नेछ । साइकल यात्रामा निस्कनेहरुले ‘स्टर्भा राइडिङ’ नामक एक मोबाइल एपमा आफ्नो यात्राको विवरण अपडेट गर्छन् । जुन अपडेट उनीहरुसँग जोडिएका अन्य यात्रीहरुले पनि थाहा पाउन सक्छन् ।
आफूले आफैलाई दिइने चुनौति पूरा गर्नु कोराको सन्तुष्टिको रुपमा लिइन्छ । यस्तो प्रकारका यात्राको प्रचलन युरोपमा धेरै रहेको साइकल यात्री सतिश निरौलाले जानकारी दिए ।
बिहान ६ बजेदेखि नेपालगन्जको बागेश्वरी मन्दिरको पार्कबाट सुरु हुने कोरामा सहभागीहरु आफुले तय गरेको रुटमा बढीमा १५ जना सहभागी हुनेगरी यात्रामा निस्कनेछन् । चुनौतिका लागि १०० किलोमिटर र ३० किलोमिटरको मापदण्ड तोकिएको छ ।
कोरामा बढीभन्दा बढी सहभागी गराई नेपालगन्जलाई साइकल सिटीको रुपमा चिनाउने उद्देश्य राखिएको संयोजक श्रेष्ठले जानकारी दिए । साइकल यात्रा पुरा गरिसकेपछि कोरा २१ ह्यास्ट्याग गरी फेसबुकमा फोटो राख्नुपर्ने छ ।
निरौलाको १०० किलोमिटर चुनौति

साइकल यात्री एवं नेकपा एमालेका युवा नेता सतिश निरौलाले कोरामा एक सय किलोमिटरको चुनौति तय गरेका छन् । उक्त यात्रामा उनले नरैनापुर गाउँपालिकाको चुरे पहाडको डाडामा अवस्थित सन्तानेश्वर मन्दिर क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि सहयोग प्रदान गर्नेपनि घोषणा गरेका छन् । उक्त सहयोगका लागि निरौलाले सामाजिक सन्जालमा प्रति किलोमीटर एक हजार रुपैयाँका दरले प्रायोजन गर्न आव्हान गरेका थिए । उनको उक्त आह्वानपछि विभिन्न व्यक्तिहरुले सहयोग गरेपछि निरौलाको घोषणा पूरा हुने भएको छ । आफ्नो यात्राबारे जानकारी दिँदै निरौलाले भने, ‘मेरो साइकल यात्रालाई विशेष बनाउने योजना पुरा भएको छ । विभिन्न ५८ जना व्यक्तित्वहरुले एक सय किलोमीटरको स्पोन्सरस्वरुप १ लाखको स्पोन्सर प्रदान गर्नुभएको छ । उक्त रकम स्थानीय सरकार र नागरिक समाजको रोहबरमा सन्तानेश्वर मन्दिरमा खानेपानी व्यवस्थापनको लागी हस्तान्तरण गर्नेछु ।’