नेपालगन्ज कोरा यात्रा जारी
Saturday, July 17th, 2021, 9:38 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ साउन
नेपालगन्ज बाइसाइक क्लबको आयोजनामा शनिबार कोरा २०२१ भइरहेको छ । साइकल यात्रामार्फत् बाँकेका विभिन्न धार्मिक स्थलको परिक्रमा गर्ने उदेश्यले कार्यत्रम आयोजना गरिएको कोरा संयोजक लवराज श्रेष्ठले जानकारी दिए ।
कोरा यात्री सतिश निरौलाको फेसबुक लाइभ रेकर्डेड
कोरा विश्वभरका साइकल यात्रीहरुले एकैपटक भाग लिने यात्रा हो । कोरा तिब्बती भाषाको शब्द हो र यसको अर्थ धार्मिक स्थलहरुको परिक्रमा हुन्छ । परिक्रमा सहभागी हुनेहरुले आफ्नो लागि आफै यति दुरी पार गर्छु भनेर चुनौति तय गर्छन् र उक्त दुरी पार गर्छन् । उक्त यात्राका क्रममा विभिन्न धार्मिक र सामाजिक काम गर्ने पनि उदेश्य राखिएको हुन्छ । नेपालका प्रमुख सहरमा पनि साइकल यात्रीहरु एकैदिन यात्रमा निस्कन्छन् । शनिबार पश्चिम नेपालका नेपालगन्जसहित, जुम्ला, दाङ, धनगढी लगायतका सहरबाट पनि कोरा यात्रा गरिँदै छ ।
बाँकेमा नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको कोरामा करिब एक सय जना साइकल यात्रीहरु सहभागी भएका कोरा संयोजक श्रेष्ठले जानकारी दिए । उनीहरुलाई नेपालगन्ज बाइसाइकल क्लबले संयोजन गरेको छ । सहभागीहरुलाई क्लबले रजिस्ट्रेसन गरेर कोराको टिसर्ट प्रदान गरेको छ । साइकल यात्रामा निस्कनेहरुले ‘स्टर्भा राइडिङ’ नामक एक मोबाइल एपमा आफ्नो यात्राको विवरण अपडेट गर्छन् । जुन अपडेट उनीहरुसँग जोडिएका अन्य यात्रीहरुले पनि थाहा पाउन सक्छन् ।
आफूले आफैलाई दिइने चुनौति पूरा गर्नु कोराको सन्तुष्टिको रुपमा लिइन्छ । यस्तो प्रकारका यात्राको प्रचलन युरोपमा धेरै रहेको साइकल यात्री सतिश निरौलाले जानकारी दिए ।
बिहान ६ बजेदेखि नेपालगन्जको बागेश्वरी मन्दिरको पार्कबाट सुरु हुने कोरामा सहभागीहरु आफुले तय गरेको रुटमा बढीमा १५ जना सहभागी छन् । चुनौतिका लागि १०० किलोमिटर र ३० किलोमिटरको मापदण्ड तोकिएको छ । साइकल यात्रा पुरा गरिसकेपछि कोरा २१ ह्यास्ट्याग गरी फेसबुकमा फोटो राख्नुपर्ने छ ।