प्रदेश खेलकुदको सदस्य सचिवमा ओली नियुक्त
Sunday, July 18th, 2021, 7:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ साउन
लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली नियुक्त भएका छन् । ओलीलाई प्रदेश सरकारले नयाँ संरचना अनुसार बनेको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरिएको हो ।
नेपाल खेलकुद महासंघको केन्द्रीय उपाध्यक्षसमेत रहेका ओली प्रदेशको खेलकुदमा सक्रिय मानिन्छन् । ओली नेपाल भलिबल संघको केन्द्रीय सचिवसमेत हुन् ।
लुम्बिनी प्रदेश सरकारले आइतबारबाट लागू हुनेगरी ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । सदस्य सचिवमा नियुक्त भएलगत्तै ओलीले इमान्दारीपूर्वक सबैसँग सहकार्य गर्दै परिणाममुखी काम गरेकाले नयाँ जिम्मेवारी आफूले प्राप्त गरेको बताए । उनले सबै सरोकालवाला निकायसँग सहकार्य र समन्वय गर्दै प्रदेश खेलकुदको कार्यकारिणी भूमिका निभाउने बताए ।
सचिव पदमा नियुक्त भएलगत्तै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले ओलीलाई सफल कार्यकालको शुभाकामना दिएका छन् । उनले फेसबुकमा ‘नेकपा एमाले जिल्ला कमिटी सदस्य सगठन विभाग प्रमुख खजुरा गापा इन्चार्ज प्रिय कमरेड भीम ओली लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा मनोनयन हुनुभएको मा हार्दिक बधाइ अनि सफल कार्यकालको शुभकामना’ लेखेका छन् ।