प्रत्येक शिक्षकलाई ल्यापटप, ज्ञानोदय प्रविधिले भरीपूर्ण
Sunday, July 18th, 2021, 8:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ साउन
खजुरा गाउँपालिका-३ मा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयका सबै शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको छ । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गाउँपालिकाले ल्यापटप वितरण गरेको हो । गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आइतबार कम्युटर ल्याबको उद्घाटन र अनलाइन कक्षा संचालनको समेत सुभारम्भ गरेका छन् । गाउँपालिकाले विद्यालयस्तरमा शैक्षिक सुधार गर्नका लागि पालिकामा रहेका विद्यालयका लागि छुट्याएको ६० लाख रुपैयाँ मध्येको रकमबाट ज्ञानोदय नमुना विद्यालयलाई ल्याब संचालन र अनलाइन कक्षा संचालनका लागि ल्यापटप लगायत विभिन्न सामान प्रदान गरेको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नै विद्यालयमा ५२ वटा कमप्युटरसहितको कम्प्युटर ल्याब स्थापना भइसकेको छ । उक्त ल्याबको पनि अध्यक्ष कक्षपतिले सुभारम्भ गरेका छन् । विद्यालयलाई ३७ वटा कम्प्युटर, ब्याट्री, साउण्ड सिस्टम, डिजिटल बोर्डलगायतका सामाहरु उपलब्ध गराइएको छ ।
अध्यक्ष कक्षपतिले विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर केसीमार्फत ल्यापटप र अन्य सामग्रीहरु हस्तान्तरण गरेका छन् । ल्यापटप खरिदमा मात्रै कुल २५ लाख रुपैयाँ खर्च भएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।
ल्यापटप प्राप्त भएपछि आफूहरुमा उर्जा थपिएको विद्यालयका शिक्षक अमर क्षेत्रीले प्रतिक्रिया दिए । उनले अब विद्यालयमा पूणर्तया प्रविधिको प्रयोग गरी शिक्षण गर्ने उदेश्यको नजिक पुगेको बताए । विद्यालयका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले विद्यालय अब प्रविधिको युगमा प्रवेश गरेको बताए । विद्यालयका अध्यक्ष केसीले विद्यालयले सामग्री प्राप्त भइसकेपछि बालविकासदेखि १२ कक्षासम्मका विद्यार्थीहरुका लागि अनलाइन कक्षा संचालन गरिने बताए । उनले भने, ‘हामी अहिले अभ्यासको क्रममा रहेका छौं । सबैको पहुँचमा इन्टरनेट, मोबाइल, कम्प्युटर नहुन सक्छ । तर हाम्रंो उदेश्य प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइ गराउने नै हो ।’