बाँकेमा तीन सातादेखि मृत्युदर शून्य
Monday, July 19th, 2021, 9:04 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपलागन्ज, ४ साउन
तीन साताअघि बाँकेमा अन्तिमपटक गत असार १६ गते जिल्लाकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । त्यसयता असार १७ गतेदेखि साउन ४ गतेसम्म जिल्लामा मृत्यु हुने बाँकेका संक्रमितको संख्या भने शून्य रहेको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार तीन सातायता जिल्लामा पुष्टि हुने र मृत्यु हुने जिल्लाका संक्रमितको संख्यामा गिरावट आएको छ । साथै धेरैजसो दिनमा संक्रमण पुष्टि हुनेको संख्या एक अंकमा पनि झरेको छ ।
सोमबार पनि जिल्लामा शून्य मृत्युदर नै रह्यो । हालसम्म जिल्लामा तीन सय २१ जना संक्रमितको मृत्यु भई सकेको छ । जसमा एक सय ३६ जना महिला रहेका छन् भने एक सय ८५ जना पुरुष रहेका छन् ।
त्यसैगरी जिल्लामा थप संक्रमण पुष्टि हुनेको संख्या पनि न्युन नै छ । सोमबार जिल्लामा एकजना महिला र दुईजना पुरुषमा संक्रमण पुष्टि भएको हो । व्यवस्थापन समितिको तथ्यांक हेर्ने हो भने पनि साउन महिनामा पुष्टि हुने संक्रमितको संख्या एक अंकमा नै रहेको छ ।
यसअघि साउन १ गते जिल्लामा महिला चारजना र पुरुष दुईजनामा मात्र संक्रमण पुष्टि भएको थियो । साथै साउन २ गते महिला पाँचजना र पुरुष चारजनामा र ३ गते महिला र पुरुष एक–एकजनामा संक्रमण पुष्टि भएको व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख रहेको छ ।
त्यस्तै जिल्लामा थप १० जना संक्रमण निको भएका छन् । साथै साउन १ गते चारजना, २ गते शून्य र तीन गते चारजना संक्रमण मुक्त भएका थिए ।
हालसम्म जिल्लाको तथ्यांक हेर्दा जिल्लामा कूल १७ हजार पाँच सय ५८ जनामा संक्रमण पुष्टि भई सकेको छ भने १७ हजार एक सय ८४ जना संक्रमण मुक्त भएको समितिले जनाएको छ ।
सोमबार देशभरको अवस्था हेर्दा थप नयाँ दुई हजार चार सय ४५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट कूल ११ हजार ६ सय ६४ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।
साथै देशभरमा थप ३२ जना संक्रमितको मृत्यु भएको छ भने एक हजार हजार दुई ५८ जना कोरोनाबाट मुक्त भएका छन् ।
हालसम्म नेपालमा ६ लाख ६८ हजार सात सय ५१ जनामा संक्रमण पुष्टि भई सकेको छ । साथै ६ लाख ३३ हजार तीन सय ३२ निको भई सकेका छन् भने कूल नौ हजार पाँच सय ८२ जना संक्रमितको मृत्यु भई सकेको छ ।
हालसम्म नेपालमा कूल ३४ लाख ७७ हजार पाँच सय १८ जनाको पीसीआर परीक्षण भई सकेको मन्त्रालयले जनाएको छ ।