बाँकेमा अभद्र व्यवहारका मुद्धा तीन गुणा बढे
Tuesday, July 20th, 2021, 5:30 am
Kalpristha
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी भन्छन्, ‘तत्कालै घटना नियन्त्रण गर्नुपर्यो, गुण्डागर्दी ठिक गर्नलाई, चोरी रोक्नलाई अरु केश पाइएन भने पनि अभद्र व्यवहारमा मुद्धा दर्ता गरिन्छ ।’ तर अधिकारीको उक्त भनाइ र कानुनको भनाइ मिल्दैन ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ४ साउन
साउन १ गते नेपालगन्ज-१० को एक टोलका केही पसल र घरहरुमा चोरी भयो । स्थानीयहरुले चोरलाई समात्न पनि सफल भए । तर, कानुनी झन्झट र खर्चको डरले जाहेरी दिन स्थानीय कोहीपनि तयार भएनन् । मुद्धाको अनुुसन्धानमा खटिएका प्रहरी अधिकारीले सुझाए यसलाई अभद्र व्यवहारमा मुद्धा हालौँ । त्यसमा स्थानीयहरुले पनि विरोध जनाएनन् । यो घटना एउटा प्रतिनिधि घटना मात्रै हो ।
बाँके प्रहरीको रेकर्डअनुसार एक वर्षमै अभद्र व्यवहारका मुद्धाको संख्या तीन गुणाले बढेको छ । आर्थिक वर्ष २०७५-७६ मा अभद्र व्यवहारमा मात्र ७७ मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७६-७७ मा त्यस्ता मुद्धाको संख्या दुई सय ३५ पुगेको छ । गत आर्थिक वर्ष २०७७-७८ मा पनि अभद्र व्यवहारमा दुई सय १४ मुद्धा दर्ता भएका छन् ।
अभद्र व्यवहारको मुद्धालाई पहिलेको सार्वजनिक अपराधको मुद्धाजस्तै लिने गरिएको छ । प्रहरीमा अभद्र व्यवहारका मुद्धा बढेको अवधिमा बाँकेमा अधिकांश समय लकडाउन थियो । मानिसहरु घरमा थिए । ठूला आन्दोलन र हुलहुज्जतका घटना पनि यस अवधिमा भएका छैनन् । तैपनि प्रहरीमा भने अभद्र व्यवहारका मुद्धा अरु अपराधमा दर्ता भएका मुद्धामध्ये सबैभन्दा बढी मुद्धा छन् । त्यो पनि आर्थिक वर्ष २०७६-७७ को तुलनामा आर्थिक वर्ष २०७७-७८ मा तीन गुणभन्दा बढी बढेका छन् ।
एक वर्षमै मुद्धाको संख्या तीन गुणा बढ्नुको कारण के होला ? जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी भन्छन्, ‘तत्कालै घटना नियन्त्रण गर्नुपर्यो, गुण्डागर्दी ठिक गर्नलाई, चोरी रोक्नलाई अरु केश पाइएन भने पनि अभद्र व्यवहारमा मुद्धा दर्ता गरिन्छ ।’ तर अधिकारीको उक्त भनाइ र कानुनको भनाइ मिल्दैन ।
मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
तर, प्रहरीले अरु कुनै केश पाएन भने अभद्र व्यवहारमा मुद्धा दर्ता गर्छ । यसलाई कानुनविदहरु कानुनको दुरुपयोग भन्छन् । अधिवक्ता विश्वजित तिवारी मुद्धाको संख्या बढ्नुमा मानिसहरुमा कानुनी ज्ञान बढ्नु वा अनावश्यकरुपमा फसाउन पनि मुद्धा दर्ता हुनु दइवटा कारणले भूमिका खेल्ने बताउँछन् । कतिपयले मनमुटाव वा अन्य कुनै कसुरमा पनि विपक्षिलाई फसाउन अभद्र व्यवहारमा मुद्धा दायर गरेको हुनसक्ने उनको भनाइ छ । एक वर्षमै मुद्धाको संख्या तीन गुण बढ्नु अस्वभाविक रहेको उनको बुझाई छ ।
अधिवक्ता अमृता केसी अभद्र व्यवहारसम्बन्धि कानुनी व्यवस्थाको दुरुपयोग भइरहेको बताउँछिन् । हिरासतमा राख्ने आधार नभेटिएको अवस्थामा अभद्र व्यवहारको मुद्धा लगाएर राख्ने गरिएको केसीले बताइन् । ‘पहिलेको सार्वजनिक अपराधको मुद्धा जस्तै अहिले अभद्र व्यवहारको मुद्धालाई प्रयोग भइरहेको छ,’ केसीले भनिन् । यस मुद्दामा कानुनी व्यवस्थामा जस्तै भौतिक प्रमाण पनि नचाहिने भएकोले के बोल्यो वा कस्तो व्यवहार गर्यो भन्ने कुराका आधारमा सजिलो ठानेर मुद्धा दर्ता हुने गरेको उनको बुझाइ छ ।
अधिवक्ता लोकहादुर शाहको राय पनि तिवारी र केसीसँग मिल्छ । तर यसरी अन्य प्रकृतिका मुद्धालाई अभद्र व्यवहारको मुद्धामै राखिनु कानुनको दुरुपयोग भएको र यसले नकारात्मक परीणाम ल्याउनसक्ने उनी बताउँछन् । यस्तो प्रवृत्तिले सानो कसुर गरेका व्यक्तिलाई पनि कसुरभन्दा ठूलो सजाय गराउन वा फसाउन सक्ने संभावना हुने उनको भनाइ छ । ‘प्रहरीले प्रमाण पुगेन भनेर मुद्धाको प्रकृति बदल्नु भन्दा प्रमाण पुर्याएर पक्राउ गर्नुपर्छ,’ शाहले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल पनि कुनैपनि मुद्धाको संख्या बढ्नु राम्रो संकेत नभएको स्वीकार्छन् । तर त्यसको कारणमा भने प्रहरीको सक्रियता र कानुनको उल्लंघन गर्ने क्रम दुवै बढ्नु रहेको गेलालको तर्क छ । दुःख दिनलाई वा प्रतिशोधमा अभद्र व्यवहारको मुद्धा दर्ता भएको भन्ने तर्कलाई उनले स्वीकार्न चाहेनन् ।
प्रतिशोधमा दायर भएका अभद्र व्यवहार सम्बन्धि दुई चर्चित मुद्धा
१. २०७६ साल माघ १ गते त्रिभुवन विमानस्थलको चेकिङ कक्षमा कार्यरत प्रहरी जवान रमीता श्रेष्ठ र गायिका आस्था राउतबीच भनाभन भयो । प्रहरी महिलाले आफूमाथि अभद्र व्यवहार भएको दाबीसहित महानगरीय प्रहरी परिसर काठमाडौंका जाहेरी दिइन् । एकदिन हिरासतमा बसेपछि गायिका राउत चार हजार धरौटीमा रिहाई भइन् ।
२. गायक भिटेन भनिने समीर घिसिङसँग गीतको बारेमा सोधपुछ गर्ने क्रममा प्रहरीलाई नै अभद्र व्यवहार गरेको भन्दै कात्तिक ७ गते प्रहरीले भिटेनविरुद्ध महानगरीय अपराध महाशाखामा मुद्दा दर्ता गराएर प्रहरीले कारबाही गरेको थियो ।