६ गते बकर इदको सार्वजनिक बिदा
Monday, July 19th, 2021, 10:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ साउन
सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निणर्य गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बकर इद मुस्लिम धर्मावलम्बीहरुको महान् चाडमध्ये एक हो । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मान्यता छ । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको बताइन्छ । बकर इदमा बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।
नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ । कुर्वानी दिएको मासु तीन भाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ । मुस्लिम समुदायको बकर इदका अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।