जमुनाह नाकामा स्थायी हेल्थ डेस्क
Tuesday, July 20th, 2021, 4:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्जको जमुनाह नाकामा हेल्थ डेस्कको स्थायी भवन निर्माण गरिएको छ । डेस्कको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । यसअघि नाकामा अस्थायीरुपमा हेल्थ डेस्क सन्चालन हुँदै आएको थियो । ५१ लाख ३१ हजार रुपियाँको लागतमा करिब तीन महिनामा प्रिपेफको भवन निर्माण सम्पन्न गरिएको छ । हेल्थडेस्कको केही भाग ईलाका प्रहरी कार्यालय जमूनाहले समेत प्रयोग गर्ने उप-महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।
नवनिर्मित भवनको नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले लगायतले संयुक्तरुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा मेयर राणा र उपमेयर थापामगरलगायत
कोरोना, डेङ्गु, मलेरिया लगायतका सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले जानकारी दिए । देशभरका १३ वटा नाकामध्ये पहिलोपटक जमुनाहमा स्थायी प्रकृतिको हेल्थडेस्क सञ्चालन आएको हो ।
हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियन सहितका स्वास्थ्यकर्मीहरु खटिने भएका छन् । भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण(स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिनेछ ।