पुरैनामा कांग्रेसको राहत वितरण
Tuesday, July 20th, 2021, 7:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ५ साउन
नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर ६ ले कोभिड–१९ बाट प्रभावित भएका जनतालाई राहत वितरण गरेको छ । मंगलबार जनसेवा मावि पुरैना गिजरामा भएको कार्यक्रममा २ सय भन्दा बढिलाई राहत वितरण गरिएको हो ।
खजुरा गाउँपालिकाको गिजरामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, बाँकेका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेसका नेता अच्युत प्रसाई, गोपाल प्रसाद अधिकारी लगायतले खजुरा गाउँपालिका वडा नम्बर ६ का स्थानीय जनतालाई राहत वितरण गरेका थिए ।
नेपाली कांग्रेसका स्थानीय नेता गोपाल विकका अनुसार वडा नम्बर ६ मा रहेका कोभिड प्रभावित अति विपन्न नागरिकलाई चामल, तेल, सावुन, माक्स लगायतका राहत सामाग्री वितरण गरिएको हो । राहत वितरणमा नेपाली कांग्रेस बाँकेका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, अच्युत प्रसाई, रबिन्द्रमान श्रेष्ठ, उत्तम घिमिरे, गोपाल प्रसाद अधिकारी लगायतले सहयोग गरेका थिए । दैनिक रोजगारी गुमाएर समस्या परेका स्थानीयलाई थोरै भएपनि सहयोग पुगोस भन्ने लक्ष्यले राहत वितरणमा सहयोग गरेको पुर्व पार्टी सभापति श्रेष्ठले बताए । स्थानीय युवाहरुको सक्रियतामा गाउँका विपन्न नागरिकलाई राहत वितरण गर्नु उत्कृष्ट काम भएको नेपाली कांग्रेसका नेता शाहले बताए ।