एक वर्षमा थपिए दुई हजार बढी उद्योग
Tuesday, July 20th, 2021, 7:45 pm
Kalpristha
यसरी थपिएका उद्योगमा आठ हजार एक सय ७७ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमा पाँच हजार पाँच सय ४२ जना पुरुष तथा दुई हजार ६ सय ३५ जना महिलाले रोजगारी प्राप्त गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
लिलाधर वली
दाङ, ५ साउन
दाङमा एक वर्षको अवधिमा दुई हजार बढी घरेलु तथा सना उद्योगहरु दर्ता भएका छन् । मुलुकभर जारी लकडाउनबीच पनि दाङ जिल्लामा दुई हजार एक सय ८४ वटा विभिन्न प्रकृतिका उद्योग थपिएका हुन् ।
यसरी थपिएका उद्योगहरुमा चार अर्ब ४८ करोड २३ लाख २१ हजार रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । स्वरोजगार बन्न तथा केहीलाई रोजगारीसमेत दिन सकिनेगरी आन्तरिक मागअनुसार जिल्लामा सामाग्री उत्पादन गर्न यस्ता उद्योगहरु थपिएका छन् । जसले जिल्लामा बेरोजगारीको संख्यामा केही कमी आउने घरेलु तथा साना उद्योग कार्यालयले अपेक्षासमेत गरेको छ ।
जिल्लामा एक वर्षको अवधिमा दुई हजार चार सय ५४ जना नयाँ उद्यमी थपिएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ मा घरेलु तथा साना उद्यमीहरु यो संख्यामा नयाँ उद्यमी थपिएका हुन् । यसरी थपिनेमध्ये एक हजार दुई सय ६२ जना पुरुष तथा एक हजार एक सय ९२ जना महिला रहेको घरेलु तथा साना उद्योग कार्यालयका निमित प्रमुख उमबहादुर वलीले जानकारी दिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयले उद्योगसम्बन्धी पाँच करोडसम्मको कूल पुँजी र वाणिज्यतर्फ दुई करोडसम्मको लगानी भएका उद्योग तथा व्यवसाय दर्ता गर्ने गरेको छ । एक वर्षको अवधिमा थपिएका दुई हजार एक सय ८४ वटा उद्योगमध्ये दुई हजार ५७ वटा प्राइभेट फर्म, ९५ वटा साझेदारी फर्म र ३२ वटा प्रालिमा दर्ता भएका छन् ।
दुई सय उद्योग बन्द
यो अवधिमा दुई सय सातवटा उद्योगहरु बन्द भएका छन् । विभिन्न कारणले उद्योगहरु बन्द गर्न निवेदन आएकाले बन्द गरिएका हुन् । यसरी थपिएका उद्योगहरुमा चार अर्ब ४८ करोड २३ लाख २१ हजार लगानी भएको निमित प्रमुख वलीले बताए । यसरी थपिएका उद्योगमा आठ हजार एक सय ७७ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमा पाँच हजार पाँच सय ४२ जना पुरुष तथा दुई हजार ६ सय ३५ जना महिलाले रोजगारी प्राप्त गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । कार्यालयमा २०७६÷०७७ मा सात सय ३१ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए ।
पछिल्लो समयमा जिल्लामा उद्योगहरु थपिने क्रम बढेको छ । प्रदेश सरकारले घरेलु तथा साना उद्योगहरु निःशुल्क रुपमा दर्ता गर्ने व्यवस्था ल्याएका कारण उद्योगको संख्यामा वृद्धि भएको हो । साना उद्यमीहरुलाई सहजता होस् भन्ने उद्देश्यले प्रदेश सरकारले यस प्रकारको नीति ल्याएको बताइएको छ ।
‘पछिल्लो समय युवाहरुमा स्वदेशमै केही गर्नुपर्दछ भन्ने सोचका कारण पनि उद्योग दर्ता गर्नेहरुको संख्या वृद्धि भएको छ । जसले गर्दा घरेलु उद्योगमा लगानीसमेत बढेको छ,’ प्रमुख वलीले भने । उनका अनुसार केही गर्नेहरुलाई राज्यको तर्फबाट समेत सहयोग प्राप्त हुने भएकाले पनि फर्म दर्ता गरेर अनुदानमा आशमा रहेको समेत बताए ।
स्थानीय सरकार प्रदेश सरकार तथा संघीय सरकारले केही गर्छु भन्नेहरुलाई धेरै अवसर दिएको प्रमुख वली बताउँछन् । राज्यले विदेशबाट फर्किएर स्वदेशमा नै उद्यमी बन्न चाहनेहरुलाई प्राथमिकता दिने गरेको छ । त्यसैगरेर सबै निकायबाट अनुगमन भइरहनु, दर्ता नगरी संचालन गरेकालाई राज्यबाट प्राप्त हुने सुविधा नपाउनुजस्ता कारणले पनि धेरै दर्ता हुँदै गएको प्रमुख वलीले बताए । कार्यालयमा दर्ता भएका उद्योगमध्ये कृषिजन्य उद्योग बढी रहेको उनको भनाइ रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा एक वर्षको अवधिमा उत्पादनमूलक उद्योगहरु दुई सय सातवटा दर्ता भएका छन् । जसमा प्राइभेट फर्महरु एक सय ८५ वटा, साझेदारी फर्म १४ वटा र प्रालि आठवटा रहेका छन् । कृषि तथा वनजन्य उद्योगहरु एक हजार पाँच सय १२ वटा थपिएका छन् । जसमा एक हजार चार सय ४२ वटा प्राइभेट फर्म, ५९ वटा साझेदारी र ११ वटा प्रालि रहेका छन् ।
पर्यटन उद्योगहरु एक सय ६८ वटा थपिएका छन् । जसमा एक सय ६३ वटा प्राइभेट उद्योग पाँचवटा साझेदारी उद्योगहरु रहेका छन् भने सेवामूलक उद्योगहरु दुई सय ९७ वटा दर्ता भएका छन् । जसमा दुई सय ६७ वटा प्राइभेट फर्म, १७ वटा साझेदारी फर्म र १३ वटा प्रालि रहेका छन् ।
कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा दुई करोड ११ लाख ७६ हजार ९९ पैसा राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ६९ लाख राजश्व संकलन गरेको निमित प्रमुख वलीले जानकारी दिए ।
अनलाइनबाटै उद्योग दर्ता
घरेलु तथा साना उद्योग कार्यालयले अनलाइनमार्फत उद्योग तथा वाणिज्यसम्बन्धी व्यवसाय दर्ता गर्न सुरु गरेको छ । चालू आर्थिक वर्ष २०७८÷०७९ बाट यस प्रकारको सेवा सुरु गरेको कार्यालयका निमित प्रमुख उमबहादुर वलीले जानकारी दिएका छन् ।
सरकारले गरेको व्यवस्थाअनुसार नै कार्यालयले अनलाइनबाटै दर्ता सुरु गरेको उनको भनाइ रहेको छ । अनलाइनमार्फत सबै कागज–पत्र पु¥याएमा १५ दिनभित्रमा उद्योगसम्बन्धी दर्ता गरेर प्रमाण–पत्र प्रदान गरिने छ भने वाणिज्यसम्बन्धी सात दिनभित्र दर्ता गरेर प्रमाण–पत्र प्रदान गरिने कार्यालय प्रमुख वलीले बताए ।
अनलाइनमार्फत सेवा पाएपछि सेवामा सहजता हुने सरकारको अपेक्षा रहेको छ । अनलाइनमार्फत काम भएमा सरकारले दैनिकरुपमा दर्ता भएको तथा बन्द भएका बारेमा जानकारी लिन सक्ने छ । यसले सरकारलाई सहजरुपमा सूचना प्राप्त हुनेछ । तर सुरुका दिनमा भएर सिस्टमले राम्रोसँग काम नगरेका कारण केही ढिला भएको छ । यसका बारेमा जानकारी गराइएको उनले बताए । राम्रोसँग काम भएमा सहजरुपमा सेवा दिन सकिने प्रमुख वली बताउँछन् ।