प्रहरीमाथि ढुंगा प्रहार, १३ जना घाइते
Wednesday, July 21st, 2021, 4:06 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ६ असोज
धनगढीमा स्थानीयको ढुंगा प्रहारबाट १३ जना प्रहरी घाइले भएका छन् । धनगढी उप–महानगरपाली–२ का स्थानीयको ढुंगा प्रहारबाट नेपाल प्रहरीका सातजना र सशस्त्र प्रहरी बलका ६ जना प्रहरी घाइते भएका हुन् । ढुंगा प्रहारबाट प्रहरीको मेघाफोन, पारदर्शी सिल्ड, हेल्मेटलगायतका सामानमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो । जम्मा भएको पानी वडा नम्बर २ तर्फ निकास गर्दा आफ्नो क्षेत्रमा डुबानको समस्या बढ्ने भन्दै स्थानीयले उक्त पानी मोहना नदीमा निकास गर्न माग गरेका थिए ।
सोही कारण वडा नम्बर २ का स्थानीयले मोहनापुल–अत्तरिया निर्माणाधिन ६ लेन सडकको बन्द गरेका थिए । कल्भर्ट बन्द भएपछि वडा नम्बर ३ का केही बस्ती र नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको थियो ।
झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन संयुक्त सुरक्षा निकायबाट प्रहरीले ५७ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले ढुंगा प्रहार गर्ने केही व्यक्तिलाई समेत नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ अरूको खोजी भइरहेको छ ।