३० जनाको मृत्यु
Wednesday, July 21st, 2021, 5:35 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ६ साउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न स्थानमा कूल ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप मृत्यु भएको संख्यासँगै नेपालमा कूल मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय ३७ पुगेको हो ।
बाँकेमा भने थप कुनैपनि संक्रमितको मृत्यु भने भएको छैन । तीन साता यता बाँकेमा मृत्यु हुने जिल्लावासी संक्रमितको संख्या शून्य नै रहेको छ । जिल्लामा हालसम्म तीन सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा एक सय ३६ जना महिला रहेका छन् भने एक सय ८५ जना पुरुष रहेका छन् ।
जिल्लामा बुधबार थप एकजना महिला र एकजना पुरुषमा मात्र संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । साथै बाँकेमा थप ६ जना संक्रमण मुक्त भएका छन् । जसमा महिला दुईजना र पुरुष चारजना रहेका छन् ।
हालसम्म जिल्लामा १७ हजार पाँच सय ६४ जनामा संक्रमण पुष्टि भई सकेको छ भने १७ हजार एक सय ९५ जना संक्रमण मुक्त भई सकेको समितिले जनाएको छ ।
देशभरमा भने थप दुई हजार तीन सयजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । १२ हजार ६ सय १६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो संख्या कूल परीक्षणको २२ प्रतिशतमा रहेको छ ।
त्यसैगरी देशभरमा थप एक हजार चार सय ७५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ लाख ३६ हजार चार सय दुईजनाले कोरोनालाई जितेका छन् ।
हालसम्म नेपालमा कूल ३४ लाख ९५ हजार ६९ जनाको पीसीआर परीक्षण भई सकेको छ ।