बाघको छालासहित २ जना पक्राउ
Wednesday, July 21st, 2021, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ६ साउन
दाङमा प्रतिबन्धित बन्यजन्तु बाघको छालासहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीले साउन ६ गते बिहान साढे ३ बजेको समयमा घोराही उप–महानगरपालिका– ३ गोग्लीबाट उनीहरुलाई बाँघको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ पर्नेमा जाजरकोट जिल्ला भेरी नगरपालिका– ९ निवासी ३२ वर्षीय रामबहादुर दमाइ र रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका–१० चौखाबाङ निवासी ५४ वर्षीय पूर्णसिंह सुनार रहेका छन् ।
बिहान ३ बजेको समयमा गजराज सिमेन्ट लेखिएको बोरा बोकी शंकास्पद अबस्थामा हिडिरहेको समयमा नियमित चेकिङमा खटिएको प्रहरी टोली उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेको बाघको छाला पुच्छरदेखि टाउँकोसम्म ५ फिट २ ईन्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ ईन्च रहेको छ । पक्राउ परेका व्यक्तिहरु आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले दुई दिनअघि पनि दाङमा प्रतिबन्धित बन्यजन्तु (रेडपाण्डा)को छालासहित घोराही उप–महानगरपालिका–११ खैराबाट एकजनालाई पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीले रेडपाण्डाको छालासहित सल्यान छत्रेश्वरी गाँउपलिका–१ दमाचौर निवासी ३२ वर्षीय लोकमान सुनारलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्तमाथि मुद्दा दर्ता गरेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । जिल्लामा प्रहरीले संक्रियता बढाएसँगै प्रतिवन्धित वन्यजन्तुको छाला ओसारपसारसँगै लागूऔषधमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको छ ।