किसानले पाएनन दुधको भुक्तानी
Friday, July 23rd, 2021, 4:39 pm
Kalpristha
खम्व पुन
नेपालगन्ज, ८ साउन
कोभिड–१९ का कारण गरिएको लकडाउनको असर दुग्ध व्यावसायमा परेको छ । लकडाउनको बेला दुध बिक्री कम भएपछि त्यसको असर किसान र दुग्ध व्यावसायमा परेको हो । दुग्ध बिकास संस्थान, नेपालगन्ज दुग्ध बितरण आयोजना कोहलपुरको गोदाममा झण्डै ८० करोड बराबरको पाउडर दुध र मख्खन बिक्रि नभएर गोदाममै थन्किएको छ । दुध उत्पादक किसानले चैत देखि असार सम्मको एक करोड बढी रकम पाएका छैनन् ।
दुध तथा दुग्ध पदार्थबाट बनेको ९ सय मेट्रिक टन पाउडर दुध र ४ सय मेट्रिक टन मख्खन कोरोनाका कारण बिक्रि नभई गोदाममै थन्किएर आर्थिक अभाव भएपछि दुध उत्पादक किसानलाई भुक्तानी दिन नसकिएको आयोजनाले जनाएको छ ।
गत आर्थिक बर्ष २०७७-०७८ को फागुन सम्म किसानहरुलाई दुधको ९ करोड ८७ लाख ३७ हजार ४ सय ६५ भुक्तानी गरिसकेको आयोजनाले गत चैत देखि असार महिना सम्मको १ करोड २८ लाख ७५ हजार एक सय रुपैया भुक्तानी दिन बाँकी रहेको जनाएको छ । भारतीय बजारबाट खुलम खुल्ला आउने दुध र दुग्ध जन्य पदार्थ संग प्रतिष्पर्धा गर्न नसक्नु र कोरोना संक्रमणको कारण डिडिसिले किसानहरुबाट खरिद गरेको दुध सोचे अनुरुप बिक्रि गर्न सकेको थिएन ।
जसका कारण चार महिनादेखिको भुक्तानी पाउन नसकेको भगवती दुग्ध उत्पादन सहकारी संस्था बढैयाताल बर्दियाका संचालक इन्द्रप्रसाद लुईटेलले बताए ।
उनले राज्यभित्र रहेका शैनिक, प्रहरी, शसस्त्र प्रहरी देखि प्रत्येक गाउँमा सुत्केरी महिलाका लागि पोषण कार्यक्रममा किसानले उत्पादन गरेका दुध र घिउलाई खाने परम्परा बसाल्न सके किसानहरुको हित हुने बताए ।
लकडाउनका बेला बजार बन्द दुधको खपत कम भएको थियो । त्यसबेला किसानको घरमा दुध लिन डिडिसीको ट्यांकर जान सक्ने अवस्था समेत थिएन । दुध बिक्री नभएपछि भुक्तानीमा समस्या आएको बताउँछन डुडुवा ३ बाँकेका किसान रामसोहावन यादव । उनले नेपालगन्ज दुग्ध बितरण आयोजना कोहलपुरबाट चैत देखि असार सम्मको भुक्तानी नपाए समेत बताए ।
जुन सिजनमा मख्खन पाउडरको दुध बनाएर बजारमा बिक्रि गर्नुपर्ने हो त्यही समयमा कोरोना संक्रमणका कारण लकडाउन भएपछि झण्डै ८० करोड बराबरको ९ सय मेट्रिक टन पाउडर दुध र ४ सय मेट्रिक टन मख्खन आयोजनाको गोदाममा थन्किएकाले किसानहरुलाई भुक्तानी दिन समस्या भएको नेपालगन्ज दुग्ध बितरण आयोजना कोहलपुरका आयोजना प्रमुख योगेन्द्र शाहले बताए ।
उनले संस्थानका अन्तर आयोजनाले पठाएको १८ लाख १५ हजार ७ सय ५ लिटर दुधको पाउडर र मख्खन बनाएको भन्दै किसानलाई ९ करोड ८७ लाख ३७ हजार ४ सय ६५ भुक्तानी गरिसकेको र भुक्तानी दिन बाँकी १ करोड २८ लाख ७५ हजार एक सय रुपैया आगामी साउन महिना भित्र किसानलाई भुक्तानी गरिसक्ने बताए ।
लामो समय लकडाउन हुनु र आयोजनाले उत्पादन गरेका दुग्ध जन्य वस्तु खपत, बजारीकरणका लागि राज्यले चासो नदेखाएकै कारण करोडौको मख्खन र पाउडर दुध गोदाममै थन्किने अवस्था आएको बताउँछन दुग्ध व्यावसायमा लागेका अगुवा किसान ।