ब्राउन सुगरसहित ३ जना पक्राउ
Saturday, July 24th, 2021, 4:43 pm
Kalpristha
खम्वप्रसाद पुन
नेपालगन्ज, ९ साउन
बाँके प्रहरीले ४३ ग्राम ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले नेपालगन्ज उप–महानगरपालिका १२ कोरियनपुरबाट ४३ ग्राम १ सय ५० मिलिग्राम ब्राउनसुगरसहित शुक्रबार बेलुका ८ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नेपालगन्ज उप–महानगरपालिका–१२ कोरियनपुरस्थित घर भाडामा बस्दै आएका भारत उत्तर प्रदेश जिल्ला बहराईच घर भएका वर्ष २८ का मुस्तकिम सिद्दिकी, वर्ष २८ का मोहम्मद सलमान खान र नेपालगन्ज उप–महानगरपालिका–११ टाँगा स्टेशन घर भएका



वर्ष २२ का आजाद कवडियाले लागूऔषधसहित नियन्त्रणमा लिएको हो । उनीहरुले लागूऔषध खरिद बिक्री कारोबार गर्दैछन् भन्ने सूचनाको आधारमा संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मोहम्मद सलमान खानले दिल्ली क्राइम नेशनल न्यूज पेपर लेखेको प्रेस कार्ड, डिजिटल तराजु र तिनै जनाले प्रयोग गर्ने तीन थान मोबाइलसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी मधुसुदन न्यौपानेले बताए । उनले पक्राउ परेका मुस्तकिम सिद्दिकीले नेपालगन्जको एकलैनीस्थित सुन पसलमा काम गर्दै आएको र उनले मोहम्मद सलमान खानसँग मिलेर भारतबाट लागूऔषध ब्राउन सुगर ल्याउने र नेपालबाट आजाद कवडियाले बिक्री गर्ने गरेको बताए ।
पक्राउ परेका तिनजनामध्ये सलमान खानले दिल्ली क्राइम नेशनल न्यूज पेपर लेखेको प्रेस कार्डकै आधारमा लागूऔषधको कारोबार गर्ने गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनले पक्राउ परेका तिनै जनालाई नेपालको प्रचलित कानून अनुसारको सजायसमेत हुने बताए ।
बाँके प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको संयुक्त प्रयासबाट गत असार १३ गतेदेखि नयाँ प्रहरी उपरीक्षक एसपी आएदेखि हालसम्म ९४ ग्राम ब्राउन सुगर, दुई लिटर ६ सय मिलिलिटर कोरेक्स र नी सय ३० ट्याब्लेट नाइट्रोजेपाम बरामद गरी १९ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइ सकेको छ ।