प्रथम पत्रकार स्व. गुप्ताको सम्झना
Saturday, July 24th, 2021, 7:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ साउन
बाँकेका प्रथम पत्रकार स्व. महावीरप्रसाद गुप्ताको आज ९५ औ जन्मजयन्ती मनाइएको छ । कार्यक्रमको आयोजना गरी फोटोमा माल्याअर्पण गर्दै गुप्ताप्रति श्रदाञ्जली अर्पण गरिएको हो ।
कार्यक्रममा कवियत्री कृष्णादेवी पाण्डेसमेत सम्मान गरिएको छ । स्व. गुप्ता हिन्दी साहित्य पुरस्कार समिति र किरण साप्ताहिकद्वारा आयोजित कार्यक्रममा हिन्दी साहित्यमा योगदान पु¥यायवापत कवियत्री पाण्डेलाई सम्मान गरिएको हो ।
स्व. गुप्ताको विस १९८४ साउन ९ गते जन्म भएको थियो भने २०४३ असोज २९ गते उनको निधन भएको थियो । वहुआयामिक व्यक्तित्व गुप्ताले नेपालगन्जमा २००८ सालदेखि पत्रकारिता गर्दै साहित्य, राजनीति र समाजसेवामा योगदान पु¥याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईँले बाँकेका प्रथम पत्रकारका रुपमा संस्थागत सम्बोधन हुनुपर्ने बताए । उनले स्व.गुप्ताको पत्रकारिताप्रतिको योगदान बारेको थप अध्यनसँगै विभिन्न आयाम सार्वजनिक हुनुपर्ने आवश्यक्ता पनि औल्याए । उनले सामाजिक योगदान पु¥याएका विशिष्ट व्यक्तिको व्यक्तित्व, कृतित्वलाई जीवन्त राख्न अध्यता, लेखक, पत्रकार र स्रष्टालाई आह्वानसमते गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं साहित्यकार सनत रेग्मीले स्व. गुप्ता बहुआयामिक र वौद्धिक व्यक्तित्व भएको भन्दै उनको विषयमा पुस्तक प्रकाशनलगायतका कार्य गर्न सुझाव दिए ।
अवधिभाषी साहितयकार सचिदानन्द चौवेले गुप्ताका फरक पाटोबारे प्रकाश पारे । साथै स्व महावीरप्रसाद गुप्ता पुरस्कार समितिका अध्यक्ष विजयकुमार गुप्ताले उनको व्यक्तित्व र योगदानलाई चिरस्मरण हुनेगरी रचनात्मक कार्य गर्न जमर्को गरिएको बताए ।
उक्त समारोहमा साहित्यकार विष्णु कुम्हाल, अवधी पत्रकार संघ बाँके अध्यक्ष चन्दे्रश्वर राज त्रिपाठी, भेरी एफएमका स्टेशन म्यानेजर मो आरिफ अन्सारी, जसपाका केन्द्रीय सदस्य अव्दुल करिम शेष, जसपा बाँके अध्यक्ष लक्ष्मीनारायण वर्मालगायतले स्व. गुप्तालाई स्मरण गरेका थिए ।