लिग आयोजना बाध्यता कि अनिवार्यता
Saturday, July 24th, 2021, 7:40 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, ९ साउन
नेपाली फुटबलको इतिहास त्यत्ति लामो छैन् । त्यसमा पनि लिगको इतिहास हेर्दा सन् १९५४ मा सम्पन्न सिजनको पहिलो लिगमा महाबीर क्लब च्याम्पिएन भएको उल्लेख भएको पाईन्छ । यसअघि सन् १९५१ मै स्थापना भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष डिभिजनको सहिद स्मारक ए डिभिजन फुटबल आयोजना गर्दै आइरहेको छ । एन्फा स्थापना भएको पनि सात दशक हुँदै छ । एन्फा स्थापनाको तीन वर्षपछि आयोजना भएको लिगले आधुनिक नेपाली फुटबललाई गति दिन सकेको छैन् । लिगको इतिहासदेखि नै लिगको आयोजना बाध्यता जस्तो बनेको छ ।
लिग शुरुवातदेखि नै नियमित हुन सकेको छैन् । समय समयमा हुने गरेका राजनैतिक परिवर्तन, प्राकृतिक प्रकोप तथा भूकम्प, एन्फाको आन्तरिक कलह आदि इत्यादि कारणले गर्दा गत विगतमा लिग अवरुद्ध भएका पनि छन् । तथापि, दुई–तीन सिजन लिग आयोजना गर्ने बीचमा बाधा व्यवधान आयो भने निराकरण गर्नुको साटो लिग रोकेर आराम गर्ने संस्कार नै बनेको छ ।
समयमा लिग नहुँदा राष्ट्रिय खेलाडीहरु विदेशिने वा अध्ययनको क्रममा बाहिरिँदा हुने क्षतिबारे एन्फा जवाफदेहिता हुन्छ वा हुन्न । समयमा लिग आयोजना नगर्नु भनेको खेलाडीको खेल्न पाउने अधिकार खोसिए सरह हो । रङशाला छ । उपयुक्त मैदान छ । तर खेलाडीले मैदान प्रवेश गर्न पाएनन । सिजनमा खेलाडीले विभिन्न क्लबहरुबाट प्रतिनिधित्व गर्दै फुटबल खेल्न पाएनन भने उपत्यका केन्द्रित ए डिभिजन क्लबहरुको हैसियत र भूमिकामाथि प्रश्न चिन्ह उठ्न सक्छ । पछिल्लो समय केही क्लबहरु आपसमा बैठक बसी केही कारणहरु देखाएर लिग रोक्न प्रयासरत देखिन्छन् । जसले गर्दा खेलाडीहरु मिडियामा आउने विवश बनेका छन् । ६ महिना लामो चल्ने लिग अवरुद्ध भएमा राष्ट्रिय खेलाडीलगायतका देशभरका खेलाडीहरु बेराजगार हुनेछन् ।
यसले आसन्न साफ च्याम्पियनसीपको तयारी र खेलाडीको मनोबल उच्च बनाइ राख्न तगारो बन्न सक्छ । भर्खरै युरोकप र कोपा अमेरिका सकिएको छ । ठूला प्रतियोगिताहरुले खेलाडीमा ऊर्जा थपेको हुन्छ । खेलाडीमा फुटबलको राप र ताप बढेको बेला आगामी असोज ३ गतेदेखि संचालन गर्ने भनिएको ए डिभिजन लिग तोकिएकै समयमा हुन सके यसले नेपाली फुटबललाई भलो नै गर्नेछ । लिग नियमित हुन सकेको खण्डमा क्लबहरु पनि आप्mनै होम ग्राउण्ड, आफनो फुटबल एकेडेमी संचालन, आप्mनै खेलमैदान बनाउनका लागि योजनासहित अगाडि आउने सम्भावना बढेर जानेछ ।
यस प्रकारको रचनात्मक पहलले नेपाली फुटबलको स्तरोन्नति र व्यावसायिकतामा समेत सुधार आउनेमा आशावादी हुनुपर्ने अवस्था सृजना गर्ने नै छ । त्यसो त विभागीय क्लबसहित केही ए डिभीजन क्लबहरुले युवा फुटबल परियोजनाको लागि अगाडि आएका छन् । आर्मी, पुलिसलगायतको आफनो नै स्कुल र परियोजना संचालनमा आएपनि अन्य क्लबहरु निजी विद्यालयहरुसँग साझेदारी परियोजना प्रस्ताव लिएर फुटबल एकेडेमी कार्यान्वयन प्रक्रियामा छन् ।
कर्मा छिरिङ शेर्पा एन्फा नेतृत्वमा आएसँगै रेलिगेसनबिनाको लिग अर्थात् लटर पटर नाम दिइएको लिग आयोजना गरेको थियो । वि.सं. २०७२ सालमा गएको विनाशकारी भूकम्पपश्चात लिग नहुँदा एक फुटबलमा देखिएको प्रकारको रिक्ततालाई परिपूर्ति गर्न पनि जस्तो सुकै मोडेलको लिग आयोजना गर्नु दबाब जस्तै थियो । २०७६ मा राष्ट्रिय लिग आयोजनाकै क्रममा रहँदा कोरोना महामारीसँगै मुलुकले भोग्नुपरेको पीडादायी डकलाउनले दुई वर्ष शीर्ष डिभिजनको लिग हुन नसक्नु मनासिबै मान्न सकिन्छ । पहिलो र दोस्रो लहरको कोरोना प्रभावले लथालिङ बनेको नेपाली फुटबल तरङ्गिने दिशातर्पm उन्मुख भइरहँदा कोरोनाको तेस्रो भ्यारियन्टलाई कारण देखाउँदै लिग संचालनमा आशंकाको कालो बादल मडारिन थालेको आभाष हुन थालेको छ ।
विश्वभर कोरोनासम्बन्धी नियमहरु पालना गर्दै साना ठूलो प्रतियोगितालगायत टोकियो ओलम्पिक भइरहेको अवस्था छ । शेर्पा नेतृत्वको एन्फा कार्यकाल छँदै ल्याइएको ६ महिना लामो महत्वकांक्षी लिग समयमै आयोजना भै सम्पन्न हुन सके त्यसको जस पनि शेर्पा नेतृत्वले नै लिने हुँदा किन पछाडि हट्ने दुश्साहस गर्ने । विगतदेखि नै लिग आयोजनालाई नेपाली फुटबललाई बचाई राख्ने एउटा अभ्यासकै रुपमा लिइदै आएको छ । लिगलाई एैच्छिक होइन अनिवार्य बनाउनुपर्छ । यसका लागि विशेष योजना र गृहकार्य गर्नै पर्दैन । ए डिभिजन क्लबहरुलाई वर्षभरि व्यस्त राख्ने र खेलाडीलाई खेल्ने वातावरण बनाउनका लागि निश्चित फुटबल गतिविधिहरु संचालन गर्नसके लिग नियमित प्रक्रियामा जान्छ । लिगलाई अनिवार्यता गर्दा क्लबहरुलाई नैतिक र पदीय दायित्व बढ्न जान्छ । यसबाट स्वतः क्लबहरु जिम्मेवारीबाट पन्छिने र सहभागितामा अलमल हुने अवस्थाहरु हटेर जानेछ ।