थारु भाषाको पढाईमा अलमल
Saturday, July 24th, 2021, 8:19 pm
Kalpristha
लिलाधर वली
दाङ, ९ साउन
घोराही उप–महानगरपालिकाले थारु भाषालाई कामकाजी भाषासँगै स्थानीय तहमा पठनपाठनको भाषा बनाउने निर्णय गरेपनि अझै पठनपाठन सुरु गर्न सकेको छैन । स्थानीय तहमा जनप्रतिनिधिका रुपमा नगर प्रमुख नरुलाल चौधरी निर्वाचित भएसँगै उनले घोराहीमा थारु भाषालाई कामकाजी भाषासँगै पठनपाठनको भाषा बनाउने बताएका थिए ।
थारु भाषालाई कार्यान्वयनमा ल्याउनेगरी २०७५ साल माघको १ गतेदेखि घोराही उप–महानगरपालिकाले कामकाजी भाषाका रुपमा सुरुवात गरेको थियो । त्यहीअनुसार पाठ्यक्रम तयारगरी प्राथमिक तहमा पठनपाठन गर्ने भनिएपनि चार वर्ष बितिसक्दासमेत अहिलेसम्म थारु भाषाको पठनपाठन हुन सकेको छैन । थारु भाषाको कक्षा सञ्चालनका लागि काम सुरु भएपनि तयारी पूरा नहुँदा कक्षा सञ्चालनमा समस्या भएको उप–महानगरपालिका शिक्षा शाखाले जनाएको छ ।
यसै शैक्षिक सत्रबाट थारु भाषालाई समावेश गरी पठनपाठन गर्ने लक्ष्य राखेको भएपनि अन्तिम समयमा तयारी नपुगेको भन्दै कक्षा सञ्चालन हुन सकेको छैन । संघीयता लागूसँगै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि घोराही उप–महानगरपालिकाले थारु भाषालाई विद्यालय तहमा पठनपाठनको भाषा बनाउने गरी तयारी अघि बढाएको थियो ।
थारु भाषा कक्षा सञ्चालनका लागि पहिलो चरणमा प्राथमिक तहसम्मको पाठ्यक्रम तयारी गरी नमूना पुस्तक छपाइको कामसमेत भएको घोराही उप–महानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिएका छन् । पाठ्यक्रम तयार भएपनि कोरोना महामारीका कारण अन्य तयारीको काम गर्न नसक्दा कक्षा सञ्चालनमा समस्या भएको उनले बताए ।
‘पाठ्यक्रम तयार भएको छ । तर कुन–कुन विद्यालयमा, कसरी लागू गर्ने भन्ने मै एकखालको अन्यौलता देखिएको छ’, शाखा अधिकृत पौडेलले भने, ‘कोरोना महामारीका कारण समुदाय वा विज्ञसँग बसेर छलफल पनि गर्न सकेका छैनौ । जसले गर्दा पाठ्यक्रम तयार भएपनि पढाई सुरु गर्न सक्ने अवस्था भएको छैन ।’ उनले कक्षा ५ सम्मको थारु भाषाको पाठ्यक्रम तयार भएपनि यसलाई विद्यालयमा लागू गर्न थारु समुदायका बालबालिका र पढाउने शिक्षकको व्यवस्था कसरी गर्ने भन्ने समस्या रहेको बताए ।
पाठ्यक्रम तयारीको काम सन्तोषजनक रुपमा भएनि कार्यान्वयन प्रक्रियामा अन्यौलता देखिएको हो ।
उनले कति विद्यालयमा थारु भाषाको पढाई लागू गर्ने ?, थारु भाषामा पढ्न चाहने बालबालिका कति छन् ?, कुन–कुन विद्यालयलाई थारु भाषा पढाउने विद्यालयका रुपमा प्रयोगमा ल्याउने ?, थारु भाषा जानेको र पहुँच पुगेका शिक्षकहरुको अवस्था के छ ? भन्ने जस्ता मुख्य विषयको टुंगो लाग्न नसक्दा कार्यान्वयनमा ढलाई भएको हो ।
थारु भाषाको पाठ्यक्रम तयार भएर पुस्तक छाप्ने काम भएपनि कार्यान्वयनमा लैजाने विषयमा अध्ययन भई रहेको घोराही उप–महानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले बताएका छन् । थारु भाषाको आफ्नै पाठ्यक्रम तयार भै काम अघि बढिसकेकाले अव ढिलै भएपनि पठनपाठन सुरु हुने नगर प्रमुख चौधरीले बताए ।
‘नगरका सवै विद्यालयमा थारु भाषाको पठनपाठन गर्ने अवस्था छैन । नगर क्षेत्रमा रहेका इच्छुक विद्यालयहरुमा थारु भाषाको पाठ्यक्रम लागू गर्ने तयारीमा छौँ’, नगर प्रमुख चौधरीले भने, ‘त्यसका लागि थारु समुदायको बाहुल्यता रहेका विद्यालयहरु प्राथमितामा हुनेछन् ।’ हराउँदै गएको थारु भाषाको ज्ञान नयाँ पुस्तालाई गराउँदै आफ्नै भातृभाषा संरक्षणमा जोड दिने उद्देश्यले पठनपाठन सुरु हुने बताए ।
थारु बाहुल समुदायका विद्यालयलाई प्राथमिकतामा राखेर थारु भाषा पठनपाठन गर्नका लागि पाँच सदस्यीय कार्यदलले अहिले पनि काम गरिरहेको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताएका छन् । कार्यदलले थारु भाषा पठनपाठन गर्न सकिने विद्यालयमा रहेका थारु समुदायका विद्यार्थी, त्यहाँको पूर्वाधार, शिक्षकको अवस्थालगायतका विषयमा अध्ययन गरी सुझाव नगर शिक्षा समितिलाई बुझाउने काम गरिसकेको समेत अध्यक्ष चौधरीले बताएका छन् ।
घोराही उप–महानगरपालिकाले २०७५ माघ १ गतेबाट थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने काम गरेपनि प्रभावकारी हुन सकेको छैन ।