राप्तीमा अक्सिजन उत्पादन सुरु
Monday, July 26th, 2021, 2:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा संघीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख बजेटबाट प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।
प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना भएसँगै दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लागि समेत अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले अक्सिजन प्लान्ट स्थापना गरेको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिएकी छन् ।
कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने भएकाले पनि प्रतिष्ठानमा दीर्घकालका लागि अक्सिजन प्लान्ट निर्माण गरिएको उपकुलपति भण्डारीले बताइन् । ‘प्रतिष्ठानमा अक्सिजन प्लान्ट नहुँदा कोरोनाको दोश्रो लहरका क्रममा धेरै दुःख भोग्नु परेको छ,’ उपकुलपति डा. भण्डारीले भनिन्, ‘अब प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना भएको छ । यसले जनतालाई धेरै राहत दिनेछ ।’
अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएको जानकारी दिइन् ।
दाङमा दाङ अक्सिजन उद्योग प्रालि भिङनीले पनि अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ । हाल क्षमता वृद्धिको काम भैरहेको उद्योगले जनाएको छ ।