यसरी सुरु गरें ‘साइक्लिस्ट’ को यात्रा
Monday, July 26th, 2021, 7:22 pm
Kalpristha
गज्जब सर्कल बनाइदियो साइकलले । जुन मैले सोचेको पनि थिइनँ । पुर्वको इलाम देखी सुदुरपश्चिमको महेन्द्रनगरसम्म नै साइकलले बनेका सयौं साथीहरू भए । जहाँ पुगेपनी साइकल वाला हुनुका नाताले भेटिने अर्को साइकले साथीले अथाह प्रेमपुर्वक स्वागत र सम्मान दिने गरेका छन् ।
सतिश निरौला
म साइकलसँग पुनः जोडिएँ नाकाबन्दी पछि । भारतीय मोदी सरकारले नेपाल माथि नाकाबन्दी गरेपछि पेट्रोलको मूल्य आकाशियो । पेट्रोलको चरम अभाव सृजना भयो । मैले सोचें साइकल किन नचढ्ने ? लगत्तै २०१७ मा हनिहन्टर ब्राण्डको गियरवाला साइकल १७ हजारमा किनेर चढ्न सुरु गरें ।
गियर भएको साइकल, टाउकोमा हेल्मेटसहित अनि हातमा पन्जा लाएर हिड्ने आधुनिक ‘साइक्लिस्ट’हरु नेपालगन्ज र आसपासमा फाट्टफुट्ट देखिन थाले । अलि राम्रो ब्रान्ड र राम्रो स्पेसिफिकेसनका साइकल महङ्गो हुन्छ । यस्तो साइकललाई माउन्टेन बाइक भनिन्छ । यस्तो साइकल चढ्नेहरु माउन्टेन बाइकर अर्थात साइक्लिस्ट कहलिन्छ्न । मैले पनि यही १७ हजारको हनिहन्टर साइकलबाट साइक्लिस्ट बन्ने यात्रा तय गरें । त्यससँगै नेपालगन्जमा हेल्मेट लगाएर गियर भएका साइकल चढ्नेहरुको क्लब बन्यो, नेपालगन्ज साइक्लिङ्ग क्लब । म पनि त्यसमा जोडिएँ । संस्थापक सदस्यकारूपमा त्यसको नेतृत्व बेलायती सेनाका अवकाशप्राप्त व्यक्तित्व बाँकेका शिक्षा क्षेत्रका अग्रणी केशर आले सरले गर्नुभयो । उहाँको नेतृत्वमा गठित नेपालगन्ज साइक्लिङ्ग क्लब छोटो समयमा नै नेपाल भित्र मात्र होईन भारतलगायत तेस्रो मुलुकमा समेत आफ्नो सम्पर्क र सम्बन्ध बिस्तार गरि चर्चामा छ । यसबिचमा क्लबले थुप्रै महत्वपूणर् साइकलका इभेन्टहरु सम्पन्न गरिसकेको छ । जसमा मेयरकप साइकल दौड प्रतियोगिता, टुर डे ठाकुरद्वार र कोरा महत्वपूर्ण छन् ।
साइकल मेरा लागि अनौठो अस्त्र बनेको छ, यसको माध्यमबाट देशभर मात्रै होइन देश बाहिरसमेत मैले महत्वपूर्ण व्यक्तिहरुसँग सम्बन्ध स्थापित गर्ने अवसर पाएँ । गज्जब सर्कल बनाइदियो साइकलले । जुन मैले सोचेको पनि थिइनँ । पुर्वको इलामदेखि सुदुरपश्चिमको महेन्द्रनगरसम्म नै साइकलले बनेका सयौं साथीहरू भए । जहाँ पुगेपनि साइकल वाला हुनुका नाताले भेटिने अर्को साइकले साथीले अथाह प्रेमपुर्वक स्वागत र सम्मान दिने गरेका छन् ।
मैले किनेको पहिलो गियरवाला साइकलमा सकर थिएन । त्यसपछि अलि अपग्रेड गर्न ३६ हजार मा ‘ट्विटर’ ब्रान्डको साइकल बिबि साइकल स्टोरमा किनेँ । त्यो साइकल चढ्दै एउटा साइकलको ठुलो कार्यक्रममा सहभागी हुँदा थाहा लाग्यो मैले भयंकर महङ्गो ठानेर किनेको साइकल त अझै माउन्टेन बाइक श्रेणी भित्रको रहेनछ । अनि २०१८ को दशैँको बेला महेन्द्रनगरदेखि नैनितालसम्मको साइकल यात्रा तय गरेँ । मसँग भएको साइकलले नैनितालको उकालो कटाउन मुस्किल छ भन्नेल धेरै साथीहरुको सुझाव आयो । मैले फेरि अब चाहिँ माउन्टेन बाइक चढ्छु भनेर नेपालकै सबैभन्दा पुरानो साइकल पसल पन्चनारायण अष्टनारायण अर्थात् ‘प्याङ्कबाइक’बाट ‘ट्रिङ्स’ ब्रान्ड को साइकल ८० हजार मुल्य तिरेर मगाएँ । हेल्मेटलगायत एसोसिरिजले सजाउँदा साइकल झण्डै एकलाख भेट्यो । त्यो साइकल कुदाएर पुगेँ जिवनकै पहिलो पहाडी साइकल यात्रामा । रमाइलो पनि भयो । जिन्दगीभर को याद बटुलियो । सजिलो चाहिँ पक्कै थिएन । तराईंमा साइकल चलाउने गरेको केटोले २३ सय मिटर सम्मको इलिभेसन पार लाउन तर लाईयो । धेरैले जिस्काए । विश्वास गर्ने कमै भेटिए कि म साइकल को पाइडल मारेर नै नैनिताल पुगेँ । ज्यालिकोटदेखि माथिको ३६ किलोमीटरको ठाडो उकालो मैले साइकलमा पाइडल हान्दै पार लगाएँ । धेरैले नपत्याएको विषय तर खै कहाँबाट त्यो ताकत आयो थाहा छैन । सायद त्यो मेरो मनदेखिको संकल्पको परिणाम थियो । हो म साइकल को पाइडल हानेर एककिलोमिटर पनि गाडी मोटरमा साइकल नचढाएर नै साइकलमा नैनिताल पुगे ।
साइकल चढ्दै गएपछि अपग्रेड गर्ने चाहाना पनि बढ्दो रहेछ । मैले पनि २०१७ मा पहिलोपटक १७ हजारको साइकल किने यता ३५, ८० हुँदै अहिले १ लाख ७६ हजारको पोलिगन ब्राण्डको ‘सिसक्युड ५’ मोडेलको साइकल अपग्रेड गरेको छु । यो साइकलका लागि मलाई नेपालकै पहिलो साइकल पसल ‘प्याङ्कबाइक’ले केही रकम स्पोन्सर गरेको छ । साइकल शौखका लागि चलाउँदा अलि खर्चिलो पनि हुने रहेछ । साइकलसँगै आवश्यक पर्ने यसका एसोसिरिज र साइक्लिङ्ग गेयर अलि महङ्गो नै हुने गर्छन् । मोटरसाइकल चढ्नेहरु सामान्यतया १६ सय देखी १८ सय बीचका हेल्मेट बढी प्रयोग गर्छन् भने साइकलका लागी सबैभन्दा सस्तो हेल्मेट पनि २ हजार माथिको नै हुन्छ । अगाडिको लाईट, पछाडि को लाईट, साइकल का लागी आवश्यक कस्ट्युम ( कपडा ), ग्लोभ्सहरु पनि सामान्य अरु सामानहरुभन्दा महङ्गो नै छन् ।
साइकलले मेरो परिचय अहिले केही बदलिएको छ । मेरो परिचय अहिले ‘साइक्लिस्ट’का रूपमा अलि बढी छ । नेपालमै गरिने साइक्लिङ्गका महत्वपूर्ण इभेन्टभित्र दर्ज हुन सफल भएको ‘टुर डे ठाकुरद्वार’को अहिलेसम्म भएको ३ वटा इभेन्टको इभेन्ट डाइरेक्टरका रूपमा मैले जिम्मेवारी लिने मौका पाएँ । त्यसले मलाई साइकलको दुनियाँमा सबै माझ चिनाउन महत्वपूर्ण भूमिका खेल्यो ।