कोरोना संक्रमण फेरि बढ्ने संकेत
Monday, July 26th, 2021, 7:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ साउन
भारतमा कोरोनाका बिरामी बढेको केही दिनमै नेपालमा पनि कोरोनाका संक्रमितको संख्या फेरि बढ्ने संकेत देखिएको छ । बाँकेमा सोमबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये १५ जना बाँकेका मात्रै छन् । साउन महिनामा जिल्लामा एकैपटक यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।
यहाँका तीनवटा प्रयोगशालामा तीन सय ६० नमुना परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । भेरी अस्पतालको प्रयोगशालामा दुई ५५ नमुना परीक्षण गर्दा २१, मेडिकल कलेज कोहलपुरमा ६७ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो भने बागेश्वरी प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
भेरी अस्पतालका फिजिसियन एवं कोरोना फोकल पर्सन डा. संकेत रिसाल अहिले तुलनात्मक रुपमा ठूलो संख्यामा परीक्षण गर्दा संक्रमितको संख्या धेरै देखिएको बताउँछन् । तर, संक्रमित थपिनु र मानिसहरुमा सावधानी घट्नुले तेस्रो लहरको संकेत गरिरहेको उनको चेतावनी छ । ‘निषेधाज्ञा अहिले पनि जारी छ भनिएको छ । तर कार्यान्वयनको अवस्था हामी सबैलाई थाहा छ । बाहिर निस्कनै हुन्न भनेको होइन । कमसेकम कोरोनालाई ध्यानमा राखेर सावधानी अपनाउन नबिर्सौँ भन्ने मेरो आग्रह हो,’ डा. रिसालले भने ।
भेरी अस्पताल तेस्रो लहरको सामना गर्नका लागि तयारी अवस्थामा रहेको रिसालले बताए । तर, जनस्तरमा उच्च सावधानी नदेखिएको उनको भनाइ छ । ‘कोरोनालाई परास्त गर्ने दुइवटा उपाय छन्, एक सावधानी अर्को खोप । अहिले हामीसँग यी दुवैचिज प्रयाप्त छैनन् । यस्तै अवस्था रहिरहे, तेस्रो मात्रै होइन अरु लहर पनि आउँछन्,’ रिसालले भने ।
बाँकेमा मात्रै नभई देशभर संक्रमित पुष्टि हुने संख्या पनि आइतबारभन्दा सोमबार एक हजार भन्दा बढीले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार दुई ७२ स्वाब परीक्षण गर्दा तीन हजार चार सय २१ जनामा कोरोना देखिएको छ । आइतबार दुई हजार दुई ३७ जनामा कोरोना देखिएको थियो ।
सोमबार पुष्टि भएकामध्ये १२ हजार दुई सय ४० जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ९१ जनामा कोरोना देखिएको हो । त्यस्तै, पाँच हजार ३२ जनाको एन्टिजन परीक्षण गर्दा एक हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाको संक्रमणबाट सोमबार देशभर २५ जनाको मृत्यु भएको छ । आइतबार १६ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार सात सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६ सय ८६ जना निको भएका छन् । आइतबार दुई हजार ५० जना निको भएका थिए । सक्रिय संक्रमितको संख्या पनि बढेर २७ हजार नौ सय आठ पुगेको छ ।
‘तेस्रो लहरको पूर्व सन्ध्यामा’
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपाल कोरोना संक्रमणको तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको शिक्षा समितिको बैठकमा सचिव अर्यालले सो कुुरा बताएका हुन् ।
हालसम्म १४ लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको र २४ लाखले एक डोज खोप लगाएको उनले जानकारी दिए । अर्यालले ९७ लाख डोज खोप शुक्रबारसम्म आउने र असोजसम्म ३३ प्रतिशतसम्मले खोप लगाउने दाबी गरेका छन् । चैतसम्म दुई करोड ६५ लाखलाई खोप लगाउने लक्ष्य राखिएको उनको भनाइ छ ।