१८ महिनामै सकिएला सडक विस्तारको काम ?
Tuesday, July 27th, 2021, 7:30 pm
Kalpristha
सडक विस्तारको काम आगामी साउन २७ गते सकिनुपर्नेमा समयमा काम नभएपछि पहिलोपटक एक सय ४५ दिन म्याद थप भएको थियो । अघिल्लो पटकको लकडाउनलगायतका कारणले समय थप गरिएको थियो । त्यतिवेला थपिएको समयमा पनि निर्माण व्यवसायीले काम गर्न सकेका थिएनन् ।
लिलाधर वली
दाङ, १२ साउन
निर्माण सम्पन्न हुनुपर्ने समयमा करिब सात प्रतिशत मात्रै काम सकिएको फोरलेसन सडक विस्तारको काम अघि बढ्ने भएको छ । मुख्य ठेकेदार भारतीय कम्पनीबाट सडक निर्माणको जिम्मेवारी पाएका दाङका निर्माण व्यवसायीले काम गर्न नसकेपछि अर्का निर्माण व्यवसायीले कामको जिम्मेवारी लिएका छन् । सोही अनुसार कुइरेपानीदेखि तुलसीपुरसम्मको २८ किलोमिटर फोरलेन सडकको काम अवको १८ महिनाभित्रै सक्नेसमेत उनले बताएका छन् ।
अमेरिकी डलरमा एक करोड ११ लाख ४२ हजार तीन सय रुपैयाँमा भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी पाएको थियो । सुरुमा भएको सम्झौताअनुसार आगामी पुसमा सकिसक्नुपर्ने काम हालसम्म करिब सात प्रतिशत मात्रै सकिएको छ । निर्माणको काम २०१९ जनवरी अर्थात २०७५ पुस १४ गतेबाट सुरु भएको थियो । त्यतिबेला सुरु भएको काम ११ अगष्ट २०२१ अर्थात आगामी साउन २७ गते सकिसक्नुपर्ने थियो । निर्माणको जिम्मेवारी लिएका व्यक्तिहरुले सडक विस्तारको काम समयमा नगरेका कारण अहिलेसम्म करिब सात प्रतिशत मात्र काम सकिएको छ ।
फोरलेन सडक भनिएपनि कतै दुई लेन त कतै चार लेन रहेको निर्माण कन्सल्टेन्सीका इञ्जिनियर आशिष कँडेलले बताएका छन् । उनका अनुसार घोराहीको कुहिरेपानीदेखि तुलसीपुरम्मको करिव २९ किलोमिटर सडक विस्तारको काम भएपनि अहिलेसम्म सडकको नाला बनाउने र माटो काट्ने काम मात्र भएको छ ।
पुरानो निर्माण व्यवसायी अनुप पाण्डेले काम अघि बढाउन नसकेपछि आफूहरुले कामको जिम्मेवारी लिएको निर्माण व्यवसायी द्रोण दुलालले बताए । ‘पहिले यो सडक अर्काे व्यक्तिले विस्तारको काम गर्न सुरु गर्नुभएको थियो तर काम पुरा हुन नसकेन’, उनले भने, ‘सडक विस्तारको काम गर्न म आएपछि अहिले हिसाव किताव दिने लिने काम सुरु भएको छ ।’ उनले सडकमा भएका रुख र पोल सम्वन्धीत निकायले हटाईदिए आगामी १८ महिनामा सडकलाई पूणर्ता दिनेसमेत बताए ।
सडक विस्तारको काम आगामी साउन २७ गते सकिनुपर्नेमा समयमा काम नभएपछि पहिलोपटक एक सय ४५ दिन म्याद थप भएको थियो । अघिल्लो पटकको लकडाउनलगायतका कारणले समय थप गरिएको थियो । त्यतिवेला थपिएको समयमा पनि निर्माण व्यवसायीले काम गर्न सकेका थिएनन् । पहिलो पटक थपिएको म्यादमा काम गर्न नसकेपछि पुन एक सय २९ दिन म्याद थपिएको थियो । पहिलोपटक थपिएको समय अनुसार निर्माण सक्ने समय आगामी पुस १९ गतेसम्म छ । पहिलोपटक थपिएको म्यादमा पनि काम सकिने नभएपछि दोस्रोपटक म्याद थप गरिएको थियो । दोस्रोपटक थपिएको म्याद अनुसार आगामी २०७९ साल जेठ ५ गतेसम्म रहेको छ ।
जति नै म्याद थप गरिएपनि सडक विस्तारको काम सुन्य जस्तै भएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सडक विस्तारको कामका लागि पहल थालेका हुन् । उनले दुईपटक सडक विस्तारको काममा लकडाउने समस्या गरेपनि अब सडक विस्तारको काममा ढिलाई गर्न नहुने बताएका छन् ।