भेरी अस्पतालको प्रशंसा
Tuesday, July 27th, 2021, 8:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ साउन
भेरी अस्पतालले कोभिड महामारीमा गरेको सेवाको सम्बद्धहरुले प्रशंसा गरेका छन् । स्थापनाको एक सय ३० वर्षपछि मंगलबार पहिलोपल्ट आयोजना गरिएको वार्षिकोत्सव समारोहमा बोल्ने वक्ताहरुले अस्पतालले संत्रटका बेला देशमै सबैभन्दा राम्रो अस्पतालको परिचय स्थापित गरेको बताए । उनीहरुले सिमित पूर्वाधारकाबिच पनि अस्पतालले आफूलाई देशभरकै उत्कृष्ठ अस्पतालको रुपमा स्थापित हुन सफल भएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन श्रेष्ठले महामारीमा अस्पतालका स्वास्थ्यकर्मीहरुले प्रशंसायोग्य काम गरेको बताए । उनले कोभिड महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङस्टाफप्रति सम्मान प्रकट गरे ।
श्रेष्ठले भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न आफु सकारात्मक रहेको पनि बताए । तर त्यसका लागि राजनीतिक निणर्य प्राथमिक हुने बताए । राजनीतिक निणर्य भएर आएमा त्यसलाई कार्यान्वयन गर्न आफू तदारुक रहेको उनले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले कोभिड महामारीमा भेरी अस्पतालले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय र बिरामीमैत्री बनाउन सुझाव दिए । कतिपय स्वास्थ्यकर्मी र चिकित्कहरुको व्यवहार सुधार गरी सेवाग्राहीमैत्री बनाउनुपर्ने उनको भनाई थियो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा अस्पतालका मेसु डा. प्रकाश थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अस्पतालमा २५ वर्षदेखि सेवारत विशेषज्ञ चिकित्सकहरु डा. श्यामसुन्दर यादव, विरेन्द्र चन्द, निर्मल शाक्य, विनोद थापा लगायत उत्कृष्ठ कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रमकै अवसरमा भुषाल इन्टरनेश्नलले प्रदान गरेको एम्बुलेन्स भेरी अस्पताल विकास समितिका अध्यक्ष धितार र मेसु थापालाई इन्टरनेश्नलका पार्थ भुषालले हस्तान्तरण गरेका थिए । यसैगरी लायन्स क्लबले ३० लाखको स्वास्थ्य सामग्री पनि अस्पताललाई हस्तान्तरण गरेको छ ।
समारोहमा स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरष्कृत समेत गरिएको थियो । यसैगरी दिवसको अवसरमा प्रकाशन गरिएको स्मारिका अक्सिजनको समेत विमोचन गरिएको छ ।