सुरक्षित आवास कार्यक्रममा अनियमितताको आरोप
Tuesday, July 27th, 2021, 8:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ साउन
नेपाल सरकारको सुरक्षित नागरिक आवास अन्तर्गत स्थानीय तहमा प्रदान गरिएको सहयोग कार्यक्रममा अनियमितता भएको भन्दै खजुरा गाउँपालिका वडा नम्बर २ का स्थानीयले बिरोध गरेका छन ।
आवास कार्यक्रम मापदण्ड विपरित वडाका जनप्रतिनिधिले आफु निकटका व्यक्ति र राजनितिक आस्थाको आधारमा वितरण गरेको भन्दै स्थानीयले त्यसको बिरोध गरेका छन । छनोट गर्ने क्रममा स्थानीय जनप्रतिनिधिले अनियमित रुपमा काम गरेको स्थानीय राम बहादुर महताराले बताए ।
सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को अनुसुची १ को दफा ४ को उपदफा १ अन्तर्गत गरिब, बिपन्न वर्गका जनतालाई घर निर्माणका लागि नेपाल सरकारले प्रतिपरिवार ५० हजार दिने घोषणा गरेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई प्रदान गरेको सहयोग कार्यक्रममा लक्षित र वास्तविक व्यक्तिले नपाएको भन्दै त्यसको बिरोध सुरु भएको छ । मंगलबार खजुरा गाउँपालिका वडा नम्बर २ का स्थानीय राम बहादुर महताराको नेतृत्वमा स्थानीयले सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज, बाँकेका निमित्त कार्यालय प्रमुख एवम सुचना अधिकारी होमनाथ भुषाललाई स्थानीय वडाले छनोट गरेको नामावली मापदण्ड विपरित भएको भन्दै त्यसको छानबिनका लागि माग गर्दै ध्यानाकर्षण गरिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर २ का स्थानीय अमर रावतले स्थानीय वडाका प्रतिनिधिले आफनो मनोमानी ढंगबाट नामावली छनोट गरेर नामावली संकलन गरेको भन्दै त्यसको बिरोध गरेका छन । सहयोग रकमको बारेमा यर्थात छानबिन गर्नको लागि वडा कार्यालयलाई जानकारी गराएपनि त्यसको सुनवाइ नभएको बताएका छन । तर खजुरा गाउँपालिका वडा नम्बर २ का सदस्य टोप बहादुर ओलीले सुरक्षित आवास कार्यक्रममा मापदण्ड अनुसार नामावली छनोट गरिएको दाबी गरेको बताए ।