भेरी अस्पतालले मृत शिशुको हातमा अर्कैको ट्याग लगाइदिएपछि……
Thursday, August 26th, 2021, 2:54 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, १० भदौ
खजुरा गाउँपालिका-६ की २० वर्षीया चन्द्रा विकले भदौ ९ गते बुधबार दिउसो करिब साढे एक बजेतिर छोरालाई जन्म दिइन् । पहिलो सन्तान प्राप्त गरेका गोविन्द र चन्द्रा दम्पत्तिको खुसी धेरैबेर टिकेन । शिशुुको स्वास्थ्यमा समस्या देखिएको भन्दै शिशुुलाई राम्रोसँग हेर्न नै नपाई तुरुन्तै एनआइसियुमा राखियो । शिशुुको स्वास्थ्य सुधार हुने आशामा बसेका मातापिता र परिवारका सदस्यले साँझ ६ बजे शिशुु गुमेको सुन्नुपर्यो । भावविह्वल अवस्थामै शिशुुको अन्तिम संस्कारका लागि खजुराको मानखोला पुर्याइयो । खाल्डो बनाएर गाड्नुअघि शव खोल्दा परिवार आश्चर्यमा परे ।
शिशुको शवको हातमा गीता चौधरी नामको ट्याग लगाईएको थियो । अर्को हातमा चन्द्राको पनि ट्याग थियो । पहिलो सन्तान गुमेको पीडामा भवविह्वल रहेको अवस्थामा अर्कैको ट्याग देखेपछि बुवा गोविन्द र परिवारका सदस्यलाई आशंका सँगै आक्रोश उत्पन्न भयो । बुवा गोविन्दले भने, ‘सुत्केरी हुनुअघि सबै ठिक छ, नर्मल डेलिभरी हुन्छ भनेका नर्सले बच्चा निकाल्न हामीलाई थाहै नदिएर भ्याकुमको प्रयोग गरेका रहेछन् । जन्मिनेबित्तिकै शिशुुको स्वास्थ्य बिग्रेको भन्दै राम्ररी मुख हेर्नै नपाई एनआइसियुमा राखे । त्यसको केही घण्टामै मृत घोषणा गरे । दाहसंस्कार गर्न लाग्दा अर्कैको ट्याग देखिएपछि कतै मेरो बच्चा जिउँदै छ की भन्ने लाग्यो । त्यसपछि तुरुन्तै पुनः अस्पताल लिएर आयौँ ।’
उनीहरुले अस्पतालमा आएर बुधबार राती अरुकै मृत बच्चाको शव बुझाइएको भन्दै आशंका व्यक्त गरे । बुधबार राती अस्पताल प्रशासनसँग विवाद भएपछि बिहीबार बिहान छलफल गर्ने निणर्य भयो । अस्पताल प्रशासन, अस्पताल विकास समितिका प्रतिनिधि, सुरक्षा निकाय र पीडितबिचको छलफलपछि घटनाबारे छानबिन गर्न समिति गठन गर्न जिल्ला प्रशासनलाई अनुरोध गर्ने निणर्य भएको छ । उपचारमा लापबाही भएको वा बच्चा साटिएको पाइएमा दोषीलाई कानुनी कारबाही गरिने सहमति भएको छ । आमाबुवा र मृतक शिशुुको डिएनए परीक्षण गरी शिशुु उनीहरुकै भए नभएको यकिन गरिने भएको छ । यसका साथै आमा चन्द्राको सबै उपचार खर्च अस्पतालले व्यहोर्ने भएको छ ।
भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाले नर्सको सानो लापरबाहीले आफन्तहरुमा आशंका उत्पन्न भएको प्रारम्भिकरुपमा देखिएको बताए । ‘एउटा हातमा चन्द्राको ट्याग रहेछ, अर्कोमा गीता चौधरीको । यस्तो अवस्थामा आफन्तमा आशंका उत्पन्न हुनु स्वभाविक हो । त्यो आशंका निवारण गर्न हामीले डिएनए परीक्षण गर्ने र छानबिन गर्ने निणर्य गरेका छौँ,’ उनले भने । गोविन्दको परिवारले डिएनए स्याम्पल संकलन गरिसकेपछि शिशुको अन्तिम संस्कार गर्ने भएको छ ।
गीता चौधरीको शिशुु भने अर्कै अस्पतालमा जन्मेर उपचारका लागि भेरी अस्पताल आएको मेसु थापाले बताए । थापाले भने ‘अर्को शिशुु एक हप्ता अगाडीको भएकोले पनि उक्त शिशुु चन्द्राकै हो भन्ने देखिन्छ । यद्धपि डिएनए टेस्ट गरेपछि आशंकाको पूर्ण निवारण भइहाल्छ ।’ गीताको शिशुु अस्पतालमा उपचारत नै छन् ।
भेरीको लेवर वार्डमा यसअघि झन् ठूला लापरबाही भएका थिए
अस्पतालका मेसु डा. थापाले यस किसिमको लापरबाही पहिलोपटक भएको बताए । तर, वास्तविकता भने फरक छ । तत्कालिन मध्य र सुदुरपश्चिमको प्रमुख अस्पताल भेरीमा यस्ता घटना भइरहनु कुनै नौलो घटना होइन । यसअघि अस्पतालमा झन् ठूला लापरबाहीका घटना भएका थिए ।
२०७६ साल भदौ २८ गते अस्पतालको लेवर कक्षका कर्मचारीको लापरबाहीका कारण जीवितै रहेको नवजात शिशुलाई मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । तर मसान घाटमा पुगरे दाहसंस्कार गर्नलाग्दा शिशु जिउँदै देखिएपछि अस्पतालका कर्मचारीले गल्ती गरेको पृष्टि भएको थियो । शिशुुलाई तुरुन्तै अस्पताल पुर्याएपनि एकदिनपछि शिशुको मृत्यु भएको थियो ।
त्यसअघि २०७५ सालमा पनि रुकुमबाट आएको एक दम्पत्तिले जन्म दिएको नवजात शिशुलाई भेरी अस्पतालको लेवर कक्षले मृत्यु भइसकेको भन्दै शव लैजान भनेको थियो । अभिभावकले शव लिएर मसानघाटमा गाड्ने बेलामा शिशु जीवितै भेटियो । पछि शिशुलाई भेरी अस्पतालमै उपचार गरेर उनका अभिभावकले जीवितै घर लगेका थिए ।
राज्यले करोडौं रकम खर्च गरेको अस्पतालका डाक्टर र कर्मचारीको लापरवाही कारण भेरी अस्पतालको सेवाबारे बारम्बार गुनासो आउने गर्छ । तर, अस्पतालले पहिलेका घटनाका दोषीलाई कारबाही गरेको छैन ।