कांग्रेस बाँकेको २४ भन्दा बढी वडाको अधिवेशन सम्पन्न
Saturday, September 19th, 2026, 9:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ असोज
असोज ३ गते देखि देशभरबाट सुरु नेपाली कांग्रेसको १५औ महाधिवेशनको सुरुआत चरणमा बाँकेका २४ भन्दा बढी वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकेका अधिकांश वडामा सर्वसम्मत रुपमा वडा कार्यसमिति चयन गरिएको नेपाली कांग्रेस बाँकेले जनाएको छ । मुख्य निर्वाचन अधिकृत नर बहादुर रोकायका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको सबै ६ वडामा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न भएको छ । शनिबार अवेर राती सम्म नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १, ३, ४,५, ६, ७, ८, १०, ११, १२, १३, १४, १५, १९,२०,२१,२२ र १८ वडाको अधिवेशन सम्पन्न भएको छ । बाँकेको ८ वटा स्थानीय तहमा ८१ वडा निर्वाचन नभएका वडामा आइतबार अधिवेशन हुँदैछ ।
यसैगरी बाँकेको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा भने अधिकाशं वडामा क्रियाशिल सदस्यताको विवादका कारण अधिवेशन हुन सकेको छैन ।
नेपाली कांग्रेसले देशभर असोज ३ र ४ गते स्थानीय अनुकुलता अनुसार निर्वाचन सम्पन्न गर्ने तयारी गरेको थियो । जसमा ६ हजार ७ सय ४३ वडामा अधिवेशन हुने तालिका रहेको थियो । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिका अनुसार असोज ७ गते गाउँ र नगरअधिवेशन हुनेछ । असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि र सभा क्षेत्रीय अधिवेशन हुनेछ भने असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक भएको छ ।