किन हुन्छ भेरीको लेवर वार्डमा लापरबाही ?
Saturday, August 28th, 2021, 9:45 am
Kalpristha
अस्पतालमा लापरबाहीका घटना दोहोरिरहनुमा पारदर्शी र सेवाग्राही मैत्री सेवा प्रवाह नहुनु, अनुभवी भन्दा नयाँ स्टाफ खटाइनु, चापअनुसार स्वास्थकर्मी नहुनु, असावधानी र घटेका घटनाबारे यथार्थ सार्वजनिक नहुनु लगायत कारण रहेको सम्बद्धहरु बताउँछन् ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ११ भदौ
घटना १ :
२०७५ सालमा रुकुमबाट आएको एक दम्पत्तिले जन्म दिएको नवजात शिशुलाई भेरी अस्पतालको लेवर कक्षले मृत्यु भइसकेको भन्दै शव लैजान भन्यो । अभिभावकले शव लिएर मसानघाटमा गाड्ने बेलामा शिशु जीवितै भेटियो । पछि शिशुलाई भेरी अस्पतालमै उपचार गरेर उनका अभिभावकले जीवितै घर लगेर गए ।
घटना २ :
२०७६ साल भदौ २८ गते अस्पतालको लेवर कक्षका कर्मचारीको लापरबाहीका कारण जीवितै रहेको नवजात शिशुलाई मृत्यु भएको अस्पतालले घोषणा गर्यो । तर मसान घाटमा पुगेर अन्तिम संस्कार गर्नलाग्दा शिशु चलमलायो । शिशुुलाई तुरुन्तै अस्पताल पुर्याएपनि एकदिनपछि शिशुको मृत्यु भयो ।
घटना ३ :
२०७८ साल भदौ ९ गते खजुरा गाउँपालिका-६ की २० वर्षीया चन्द्रा विकले पहिलो सन्तान छोरालाई जन्म दिइन् । पहिलो सन्तान प्राप्त गरेका गोविन्द र चन्द्रा दम्पत्तिको खुसी धेरैबेर टिकेन । जन्मिनेबित्तिकै एनआइसियुमा राखिएको शिशुुको मृत्यु भएको अस्पतालले घोषणा गर्यो । तर अन्तिम संस्कार गर्नलाग्दा शिशुको शवको हातमा अर्कै आमाको ट्याग लगाइएको भेटियो । उनीहरुले तुरुन्तै शवलाई पुनः अस्पताल फिर्ता ल्याए । अस्पतालको हेलचक्य्रार्इंले दुःख पाएका आफन्तहरु रातीको समयमा संयमित भएकोले अप्रिय घटना हुनबाट बच्यो । उक्त घटनाबारे छानबिन गर्न शुक्रबार एक समिति गठन गरिएको छ ।
तर, अस्पतालमा लापरबाहीका घटना दोहोरिरहनुमा पारदर्शी र सेवाग्राही मैत्री सेवा प्रवाह नहुनु, अनुभवी भन्दा नयाँ स्टाफ खटाइनु, चापअनुसार स्वास्थकर्मी नहुनु, असावधानी र घटेका घटनाबारे यथार्थ सार्वजनिक नहुनु लगायत कारण रहेको सम्बद्धहरु बताउँछन् ।
पारदर्शी र सेवाग्राही मैत्री सेवा प्रवाह नहुनु
यी प्रतिनिधिमूलक घटनाहरु हुन् । तर अस्पतालको प्रसुति वार्डमा नर्सहरुको झर्कोपूणर् व्यवहार र हेलचक्य्राईं भोगेको बताउने सेवाग्राहीहरु प्रशस्तै भेटिन्छन् । त्यसको एउटा उदाहरण पछिल्लो सार्वजनिक घटनामा छोरा गुमाएका गोविन्दको अनुभव नै हो । गोविन्दका अनुसार सुत्केरी हुनु एकदिन अघि अस्पताल पुगेकी चन्द्राको स्वास्थ्य चेकजाँच गर्दा र गर्भको भिडियो एक्स रे गर्दा सबै सामान्य अवस्था रहेको बताइएको थियो । ‘गाह्रो भएको भनेर गुनासो गर्दा तपाईंहरुलाई मात्रै कति अप्ठ्यारो भएको भनेर झर्किन्थे,’ गोविन्दले भने । गर्भको मात्रै तीनपटक भिडियो एक्स रे गरिएको गोविन्दले बताए । उनले ॅनर्मल’ सुत्केरी गराउन अप्ठ्यारो हुने भए अप्रेशन गरेर सुत्केरी गराउन आफू तयार रहेको बताएपनि स्टाफहरुले ॅनर्मल’ हुन्छ भन्ने आश्वासन दिए । तर सुत्केरी गराउँदा परिवारलाई जानकारी नै नदिई भ्याकुमको सहायताले बच्चा निकालियो । ‘सुत्केरी हुनुअघि सबै ठिक छ, नर्मल डेलिभरी हुन्छ भनेका थिए नर्सले । तर बच्चा निकाल्न हामीलाई थाहै नदिएर भ्याकुमको प्रयोग गरेका रहेछन् । अहिले सुत्केरीकोमा २५ टाँका लागेका छन् । यो अप्रेशन गरेको भन्दा बढी दुःख भएन र ? त्यसैमाथि बच्चा पनि जोगिएन,’ गोविन्दले पीडा व्यक्त गरे ।
अनुभवी भन्दा नयाँ स्टाफ खटाइनु
लुम्बिनी, कणर्ाली र सुदुरपश्चिम प्रदशेको प्रमुख अस्पताल भेरीले कोभिडका बिरामीको उपचारमा उदाहरणीय काम गरेको छ । बिरामीको उच्च चाप भएका बेला पनि अस्पतालले सेवा दिएको थियो । जसको सर्वत्र प्रशंसा भइरहेको छ । यद्धपि कोभिड वार्डमा पनि सबै नयाँ स्टाफ मात्रै राखिएको गुनासो सेवाग्राहीले गरेका थिए । जिल्लामा कोभिड-१९ को तेस्रो लहरबारे अध्ययन गर्न गठित समितिले पनि उक्त गुनासोलाई सम्बोधन गर्न सुझाव दिएको छ । समितिको प्रतिवेदनमा भनिएको छ, ‘कोभिड वार्डमा सबै नयाँ स्टाफ मात्रै राखिएको हुँदा उपचारको गुणस्तरमा गुनासो आएको कुरालाई मध्यनजर राखी नयाँ र पुरामा डाक्टर नर्स र प्यारामेडिक्सको व्यवस्थापन हुन पर्ने ।’
नयाँ स्टाफ मात्रै राखिने वा उनीहरुलाई मात्रै सेवामा बढी खटाइने गरेको गुनासो कोभिडका सेवाग्राहीको मात्रै होइन । यो गुनासो कोभिड वार्डका सेवाग्राही मात्रै नभएर प्रसुति वार्डका सेवाग्राहीले पनि गर्ने गरेका छन् । प्रसुति वार्डबाट केही समयअघि सेवा लिएका एकजना सेवाग्राहीले ॅसिनियर’ स्टाफ एवं डाक्टरहरुले आक्कल झुक्कल मात्रै बिरामीलाई हेर्ने गरेको र अधिकांश बिरामीलाई ‘जुनियर’ नर्सहरुले मात्रै हेर्ने गरेको बताए । अनुभवी स्टाफहरुले झर्किने र नयाँ स्टाफहरुले हेलचक्य्राईं गर्ने समस्या प्रसुति वार्डका सेवाग्राहीको आम भोगाई हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रकाश थापाले भदौ ९ को घटना प्रसुति वार्डको नभई एनआईसियुमा कार्यरत कर्मचारीको भुलका कारण भएको बताए । तर, पीडितहरुको भनाईबाट प्रसुति सेवा प्रदान गरिँदा नै हेलचक्य्राईं भएको आशंका गर्न सकिने ठाउँ दिएका छन् । यसबारेमा छानबिन समितिले यथार्थ कुरा बाहिर ल्याउने आशा डा. थापाले व्यक्त गरे ।
चापअनुसार स्वास्थकर्मी नहुनु
प्रसुति वार्डमा सेवाग्राहीको चाप अनुसार स्वास्थ्यकर्मी नभएको कारणले पनि हेलचक्य्राईं हुने गरेको सेवाग्रहीहरु बताउँछन् । डा. थापाले भने करिब एक महिनाअघि स्टाफहरु थप गरिएको बताए । यद्धपि अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको थापाको भनाई छ । ॅपछिल्लो केही समयदेखि अस्पतालमा बिरामीहरु बढेका छन् । नर्मल डेलिभरी र कम्लिकेटेड केसहरु पनि बढेका छन् । त्यसको स्वभाविक चाप पनि स्टाफहरुलाई हुनसक्छ,’ उनले भने ।
असावधानी
डा. थापाले थापाले घटनापछि स्टाफहरुलाई आगामी दिनमा गल्ती नदोहोर्याउन चेतावनी दिइसकेको बताए । ड्युटीको समयमा सामाजिक सन्जाल नचलाउन पनि स्टाफहरुलाई निर्देशन दिएको उनले बताएका छन् । यस भनाईले स्टाफहरुले सामाजिक सन्जालमा भुल्दा पनि गल्ती भएको हुनसक्ने आशंका जन्माएको छ ।
भेरी अस्पतालको सेवा सुधारका विषयमा पैरवी समेत गरेका अधिवक्ता लोकबहादुर शाह अस्पतालमा पछिल्लो समय घटेको घटना सामान्य नभएको बताउँछन् । ‘यो घटनाले गम्भीर लापरबाहीतर्फ संकेत गर्छ । एक त सेवा दिँदा कति गम्भीर भएर दिइँदो रहेछ ? भन्ने अर्को उपचार सेवाको पारदर्शीतामा पनि यसले प्रश्न उठाउँछ,’ उनले भने, ‘मानिसको जीवनसँग जोडिएको स्वास्थ्य सेवा त्यसमाथि प्रसुति सेवा । यो सेवा लिँदा हामी पूणर्तया स्वास्थ्यकर्मीमाथि भरोसा गर्छौँ । त्यसैमा यस्तो हेलचक्य्राईं गरिएपछि त्यसले संस्थाको विश्वसनीयतामा प्रश्न उठ्छ,’ उनले भने ।
जुन कारणले घटना भएको भएपनि त्यसले सेवाग्राहीमा भने नकारात्मक प्रभाव परी अस्पतालको विश्वसनीयतामा असर पर्नेतर्फ अस्पताल सजग रहेकोले निष्पक्ष छानबिन समिति गठन गरेर यथार्थ बाहिर ल्याइदिन आग्रह गरिएको उनले बताए ।
घटनाबारे यथार्थ सार्वजनिक नहुनु
तर, पछिल्लो घटनामा छानबिन समिति बनेपनि यसअघिका दुई घटना भने त्यसै सामसुम पारिएको थियो । पीडितहरुलाई सामान्य रकम दिएर यथार्थलाई लुकाउन खोजिएको थियो । त्यसरी सार्वजनिक भइसकेका लापबाही देखिने घटनाबारे छानबिन नहुँदा वा दोषीलाई बारबाही नगरी विश्वसनीय तवरले शंका निवारण नगरिँदा सेवामा समस्या उस्तै रहीरहने, लापरबाही दाहोरिरहने र सेवाग्राहीको भरोसा टुट्दै जानेतर्फ सबैले गम्भीर हुनुपर्ने अधिवक्ताले शाहको भनाइ छ ।
पछिल्लो घटनाका पीडित गोविन्दले पनि अहिले बनेको छानबिन समितिले यथार्थ बाहिर ल्याउनुपर्ने माग गरेका छन् । ‘यो छानबिन समितिको माग मैले मेरा लागि मात्रै भन्दा पनि भविष्यमा अरुले मैलेजस्तो वा यसभन्दा ठूलो हेलचक्य्राईं व्यहोर्नु नपरोस् भनेर गरेको हुँ । त्यसकारण यो छानबिन समितिले निपक्ष भएर यथार्थ बाहिर ल्याओस्,’ उनले भने ।