प्रअ मुन्नाले छात्रवृत्ति हिनामिना गरेको आरोप
Tuesday, October 5th, 2021, 6:00 am
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, १८ असोज
नेपालगन्ज उप-महानगरपालिका-२३ जंगलीसिंहपुर्वास्थित एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले हालसम्म विद्यालयमा आएको छात्रवृत्ति वितरण नगरी रकम हिनामिना गरेको पाइएको छ । स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक मुन्ना सिंहले विद्यार्थीहरुका लागि आएको छात्रवृत्ति वितरण नगरी कागजमा मात्रै हिसाब मिलान गरेर रकम हिनामिना गरेको विद्यालयका अभिभावक एवं स्थानीयले आरोप लगाएका छन् ।
छात्रवृत्ति वितरण गरेको विषयमा हिसाबकिताब माग्दा प्रधानाध्यापकले आफ्ना मान्छेहरु बोलाएर हातपात गरेको र धम्की दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रकाश सिंहले बताए । प्रधानाध्यापकले वर्षौदेखि कागजमा हिसाब मिलान गरेर र किर्ते हस्ताक्षर गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि आएको रकम हिनामिना गर्दै आएको उनले बताए । आफू व्यवस्थापन समितिको अध्यक्ष भएर आएपछि विद्यालयको सबै हिसाबकिताबबारे चासो राख्दा प्रधानाध्यापकले गर्दै आएको भ्रष्टाचारको विषय बाहिर आएको उनको भनाइ छ ।
‘विद्यालयलाई वर्षौसम्म प्रधानाध्यापक मुन्ना सिंहले आफ्नो व्यक्तिगत सम्पत्तिजस्तो गरी प्रयोग गरे । विद्यार्थीहरुको पढाईको त कुरै छोडौँ उनीहरुलाई विद्यालयमा आकर्षित गर्न सरकारले दिँदै आएको छात्रवृत्ति पनि आफैले हिनामिना गरिदिए,’ अध्यक्ष सिंहले भने ।
आइतबार विद्यालयमा सोही विषयमा छलफल गर्न उपस्थित अभिभावक एवं स्थानीयहरु अहिलेसम्म आफ्ना नानीहरुले छत्रवृत्ति नपाएको बताउँदै थिए । उनीहरुले विद्यालयमा हुँदै नभएका विद्यार्थीहरुको फर्जी नाम र हस्ताक्षर गरेर रकम आफैले हिनामिना गरेको आरोप लगाए । छात्रवृत्तिमा मात्रै नभइ विद्यालयको किताब वितरणमा पनि विद्यार्थीको किर्ते सुची र हस्ताक्षर गरेर अनुदान लिएको अभिभावकहरुको आरोप छ ।

अभिभावकहरु समक्ष जवाफ दिँदै प्रअ मुन्ना सिंह
स्थानीय आश मोहम्मदकी छोरी अफ्रिन शेष विद्यालयमा आएकी छैनन् । तर उनको छोरीको नाम व्दिालयको विद्यार्थीको सूचीमा छ । उनको नामबाट आएको छात्रवृत्तिको रकम पनि अहिलेसम्म अफ्रिनले पाएकी छैनन् । ‘किर्ते गरेर मेरो बिटियाको नामबाट आएको रकम पनि खाए होलान्,’ आसले भने ।
छात्रवृत्तिजस्तै पाठ्यपुस्तक वितरणमा पनि प्रधानाध्यापकले किर्ते गरेको स्थानीयले बताए । हुन पनि विद्यालयका कक्षा २ का विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको सूचीमा पुष्पा सिंह चौहानको नाम छ, अभिभावकको नाममा वहीस शेषको नाम ऐजन गरिएको छ, हस्ताक्षर प्रदीप सिंहले गरेका छन् । यस्ता कैफियतहरु विद्यार्थीहरुको सूचीमा अनेक ठाउँमा भेट्न सकिन्छ ।
अभिभावकहरुले गत चैत्र महिनामा नै प्रधानाध्यापक समक्ष हालसम्म वितरण भएको छात्रवृत्तिको भरपाई एवं विवरणबारे सुचना माग गर्दै निवेदन दिएपनि प्रधानाध्यापकले उक्त सुचना उपलब्ध गराउन सकेका छैनन् । आइतबार कालपृष्ठ समाचारदाताले पनि यसअघिका वर्षमा दिइएको छात्रवृत्तिको भरपाईबारे जिज्ञासा राख्दा प्रधानाध्यापक सिंहले उक्त विवरण विद्यालयमा नभएको बताए । उनले कहिले उक्त विवरण आफ्नो घरमा राखेको त कहिले नेपालगन्जमा राखेको भनेर उम्किने पर्यत्न गरिरहे ।
अभिभावकहरुले सामूहिक हस्ताक्षर गर्दै २०७७ सालको चैत्र महिनामै अख्तियारमा छानबिनका लागि उजुरी पनि दिएका छन् । तर, अहिलेसम्म अख्तियार विद्यालयमा छानबिनको कुनै काम नगरेको रियाज अन्सारीले बताए ।
विद्यालयको कक्षाकोठामा व्यक्तिगत सामान, शौचालयमा ताल्चा
प्रधानाध्यापक सिंहले विद्यालयको हिसाबकिताब घरमा राखेको बताइरहँदा विद्यालयमा भेला भएका अभिभावकहरुले विद्यालयका दुईवटा कोठाहरु कहिल्यै नखुल्ने गरेको बताए । प्रधानाध्यापकलाई कोठा खोलेर देखाइदिन अनुरोध गर्दा उनले अनेक बाहना गरे । उनी कहिले चाबी घरमा छुटेको बताउँथे भने कहिले कर्मचारीले राखेको बताउँथे ।
त्यसपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिंहले सबै अभिभावकको अनुमति लिएर विद्यालयका दुबै कोठाको ताल्चा फोडेर खोले । कोठा खुलेपछि विद्यालयको भण्डार कक्षमा भेटिए गहुँका बोरा । कोठाको एक भागमा गोदाम बनाइएको संकेत दिनेगरी त्रिपाल बिछ्याइएको थियो । एकजना अभिभावकले भने, ‘यो कोठा प्रधानाध्यापकको निजी गोदामजस्तै हो । यहाँ अन्नपात भण्डार गरेर राखिन्छ । अनि विद्यार्थीहरुलाई चाहीँ भुईंमा बसाएर पढाइन्छ ।’
विद्यालयकै एक शिक्षकले खुलासा गर्दै भने, ‘यो कोठा त कहिलेकाहीँ खुलेको देख्थेँ । तर उ त्यो कोठा त अहिलेसम्म खुलेको देखेको छैन ।’ उक्त कोठाको ताल्चा पनि व्यवस्थापन समिति अध्यक्षको रोहबरमा ताल्चा फोडेर खोलियो । जहाँ भेटिए ठूला-ठूला कम्प्युटर र्याक, मोटरका सामान अनि चिरान गरिएका काठ र चिरान गर्न बाँकी काठको लडिया । उक्त सामग्री कसको हो ? भन्ने प्रश्नमा प्रधानाध्याकले अनकनाउँदै उत्तर दिए, ‘दाइको हो ।’
प्रधानाध्यापक सिंहको घर विद्यालयको ठिक सामुन्ने छ । अभिभावकहरु भन्दै थिए, ‘विद्यालयको कोठाका व्यक्तिगत सामान राख्ने तर विद्यालयको कागजपत्र घरमा राखेको छु भन्दै हामीलाई उल्लु बनाउँदै आएका रहेछन् हेडमास्टरले ।’
कक्षाकोठामात्रै होइन विद्यालयको शौचालयका चारवटा कोठामध्ये दुईवटा कोठा बन्द अवस्थामा थिए । अभिभावकहरुले उक्त शौचालयका दुईवटा ढोका सधैं बन्द नै राख्ने गरिएको बताए । बन्द गरिएका कोठा प्रधानाध्यापक सिंहको परिवारले प्रयोग गर्दै आएका उनीहरुको भनाइ छ ।