कोहलपुर शैक्षिक झलक विमोचन
Sunday, August 1st, 2021, 12:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ साउन
कोहलपुर नगरपालिकाले शनिबार शैक्षिक झलक-२०७८ विमोचन गरेको छ । नगरपालिकाले नगर क्षेत्रका सम्पूणर् शैक्षिक गतिविधि समेट्ने गरी तयार गरिएको शैक्षिक झलक विमोचन गरेको हो ।
‘हरित संगमस्थल हाम्रो शहर, सुन्दर समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ कोहलपुर शैक्षिक झलक २०७८ अंक दुई नगरका मेयर लुटबहादुर रावतले विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले नगर शिक्षाले कोरोना कहरकाबिच लकडाउन अवधिमा तयार पारेको झलक शैक्षिक क्षेत्रको उपलब्धि भएको बताए । ‘कोहलपुर क्षेत्रका शैक्षिक क्षेत्रका गतिविधि समेटिएको छ । यो अति महत्वपूणर् काम हो,’ उनले भने ।
उक्त अवसरमा बोल्दै उप-प्रमुख सन्जुकुमारी चौधरीले कोहलपुर नगरपालिकालाई शैक्षिक हब बनाउने नीति पूरा गर्नका लागि यस्ता प्रकारका क्रियाकलापले महत्वपूणर् भूमिका खेल्ने बताइन् । ‘अहिले कोहलपुर शैक्षिक झलकको २ अंक भयो, ‘अब आउने अर्को अंकमा भने कोहलपुरका विद्यालयका सफलताका कथाहरु समेटीएमा झन् राम्रो हुने थियो, उनले भनीन् ।
बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमालले ‘कोहलपुर शैक्षिक झलक’ माथि टिप्पणी गरेका थिए ।
एक सय १० पेजको उक्त झलकमा कोहलपुरको शैक्षिक क्षेत्रको बृहत जानकारीसहितका २१ वटा विषयवस्तु समेटिएको छ । उक्त झलकमा कोहलपुर नगरपालिकाको संक्षिप्त चिनारी, शैक्षिक स्थिति, तहगत विद्यालय संख्या, विद्यालयगत नतिजा, आगामी वर्षमा गरेका कार्यहरु, नेपालको वर्तमान अवस्था, तहगत शिक्षकको संख्या, नेपाल सरकारको वार्षिक निति तथा कार्यक्रम, दरबन्दी मिलानको प्रक्रिया र नतिजा, कोहलपुरको शिक्षा ऐन २०७६, आधारभुत तह (कक्षा८) मुल्याङ्कन तथा नतिजा प्रकाशन कार्यविधि, २०७८, बालसंरक्षण निति, २०७८, शैक्षिक हब अवधारण पत्रको प्रस्ताव, बालविकास केन्द्रमा गर्नुपर्ने न्यूनतम क्रियाकलाप र अन्य विषयबस्तुहरु समेटिएको छ । कोहलपुर नगरपालिका बाँके जिल्लामा नै पहिलो पटक साक्षर नगर घोषणा गरिएको थियो ।