जोखिमका बिच व्यवसायीक क्षेत्रमा लगानी
Saturday, August 28th, 2021, 11:52 am
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ११ भदौ
कोरोना संक्रणका कारण व्यापार व्यवसाय क्षेत्र धरासायी भएपनि नयाँ लगानी बढ्ने क्रममा कमी आएको छैन । कोरोना संक्रमण शुरु भएको एक वर्ष यता जिल्लामा व्यापार व्यवसाय क्षेत्रमा ठुलो लगानी भएका छन् ।
कोरोना संक्रमणको महामारीबिच दाङमा १५ करोड लगानी सञ्चालनमा आएको छ बाल उद्यान्नसहितको फनपार्क । घोराहीउपमहानगरपालिका-१० अमराइमा बाल उद्यान्नसहितको फन पार्क संचालनमा आएको हो । तीन वर्ष अघिबाट निर्माण शुरु गरिएको दाङ फन भ्याली प्रालि कोरोना संक्रमणकाबिच सञ्चालनमा आएको छ ।
कोरोना संक्रमणकै समयमा निर्माणको काम सम्पन्न गरेरसञ्चालनमा ल्याएको प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘कोरोनाको प्रभाव परेपनि हामीले सञ्चालनमा ल्याउन सकेका छौ’- श्रेष्ठले भने-‘लगानी गरेपछि फर्किने कुरा भएन । कोरोनाकै कहरबीच निर्माणको काम सम्पन्न गरेर सञ्चालन ल्यायौं ।’
तीन विघा ५ कट्ठा क्षेत्रमा अवस्थित फनपार्कमा गेष्ट रुम, पाटी प्यालेस, रेष्टुरेण्ट, इन्डोर गेम, जिम, बाल उद्यान, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुलको सूविधा छ । एउटै ठाउँबाट सबैखाले मनोरञ्जन तथा सेवा लिन सकिने सोचले पहिलो पटक यसकिसिमको ठुलो लगानीमा फन पार्क निर्माण गरिएको महाप्रबन्धक श्रेष्ठले बताए । यसले आन्तरीक पर्यटनको वृद्धिमा सहयोग पुर्याउने उनको भनाई छ ।
कोरोना संक्रमणको समयमा जिल्लामा यस खालका ठुलो लगानीमा पूर्वाधार तथा संरचनाहरु सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्यांकले कोराना संक्रमण शुरु भएयता जिल्लामा साना उद्योगहरु बढेको देखाउँछ । दाङमा गत आर्थिक वर्षमा नयाँ दर्ता हुने साना उद्योगहरुको संख्या तीन गुणाले बढेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७७/०७८ मात्र दुई हजार एक सय ४ साना उद्योगहरु दर्ता भएका छन । दर्ता भएका साना उद्योगहरुमा चार अर्ब ४ करोड २३ लाख बराबरको लगानी भएको छ । कोरोना संक्रमण कायमै रहेको बेलापनि उद्योग दर्ता हुने संख्या तीन गुणाले बढेको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा सात सय ३१ साना उद्योगहरु दर्ता भएका थिए । गत आर्थिक वर्षमा दुई हजार एक सय ८४ उद्योग दर्ता हुँदा दुई हजार चार सय ५४ जनाबढी उद्यमी बनेका छन् भने आठ हजार बढीले रोजगारी पाएको कार्यालयका प्रमुख उमबहादुर वलीले बताएका छन् । उनका अनुसार हरेक क्षेत्रमा भइरहेको व्यावसायीक रुपान्तरणले साना उद्योग तथा फार्महरु थपिदै गएका छन् । कोरोनाका कारण रोजगार गुमाएर स्वदेश फर्किएका युवाहरुले आफनो स्थानमा केही गर्नु पर्दछ भन्ने सोचको विकासले पछिल्लो समय उद्योग तथा व्यवासाय क्षेत्रमा लगानी गर्न थालेका छन् ।