बैजनाथ गाउँपालिकामा सुधारिएको चुलो वितरण सुरु
Monday, November 23rd, 2026, 9:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बाँके, ७ मंसिर
परम्परागत चुलोको धुवाँले वर्षौंदेखि प्रभावित हुँदै आएका बैजनाथ गाउँपालिकाका घरपरिवारलाई स्वच्छ, सुरक्षित र वातावरणमैत्री भान्सातर्फ उन्मुख गराउने उद्देश्यले बैजनाथ गाउँपालिकाले सञ्चालन गरिरहेको स्वच्छ ऊर्जा कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको छ। कार्यक्रमअन्तर्गत तह ३ को सुधारिएको चुलो वितरण कार्य सोमबारबाट शुभारम्भ भएको छ |
हरित जलवायु कोष,वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक सहयोग, तथा बैजनाथ गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालन भइरहेको यो कार्यक्रम जलवायु परिवर्तनको असर न्यूनीकरण, घरभित्रको धुवाँजन्य प्रदूषण नियन्त्रण, इन्धनको बचत तथा नागरिकको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले कार्यान्वयन गरिएको हो।
बैजनाथ गाउँपालिकाले सुधारिएको चुलोका लागि इच्छुक नागरिकबाट आवेदन सङ्कलन गरेको थियो। आवेदन परेपछि पहिलो चरणमा ३२० घरपरिवारलाई सुधारिएको चुलो वितरण कार्य भइरहेको जानकारी उक्त पालिका का कार्यक्रम फोकल पर्शन अमृत सुनार ले बताउनु भयो।

………
कार्यक्रमले तराई क्षेत्रमा खाना पकाउन प्रयोग हुँदै आएको दाउरा, गुइँठा, कृषिजन्य अवशेष तथा आयातित इन्धनको प्रयोग घटाई आधुनिक तथा स्वच्छ ऊर्जा प्रविधिको प्रयोग बढाउने लक्ष्य लिएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आर्थिक वर्ष २०८०/८१ देखि पाँच वर्षका लागि सञ्चालनमा ल्याएको यस कार्यक्रमबाट तराईका २२ जिल्लाका १५० स्थानीय तह लाभान्वित हुनेछन्। बैजनाथ गाउँपालिकामा भने आर्थिक वर्ष २०८२/८३ देखि केन्द्रसँग सम्झौता भई कार्यक्रम कार्यान्वयनमा आएको हो।
लागत साझेदारीअनुसार तह ३ को सुधारिएको चुलोमा हरित जलवायु कोषबाट ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ४० प्रतिशत, बैजनाथ गाउँपालिकाबाट १५ प्रतिशत र उपभोक्ताबाट ५ प्रतिशत लागत साझेदारी रहेको छ।
बैजनाथ गाउँपालिका को अध्यक्ष प्रकाश बहादुर शाहि ले स्वच्छ ऊर्जा प्रवर्द्धन नागरिकको स्वास्थ्य, वातावरण संरक्षण र दिगो विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनु भयो , परम्परागत चुलोबाट निस्कने धुवाँका कारण विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले गाउँपालिकाले स्वच्छ ऊर्जा प्रविधिको विस्तारलाई प्राथमिकतामा राखेको उनले बताए। सुधारिएको चुलो वितरण कार्य भइरहेको, बायोग्यास विस्तार भइरहेको र विद्युतीय चुलो वितरणको तयारी भने आउने आर्थिक बर्ष मा हुने र आगामी दिनमा बैजनाथ गाउँ पालिका लाई क्रमशः धुवाँमुक्त भान्सातर्फ उन्मुख गराइने उहाँ को भनाइ छ।
गाउँपालिका का उपाध्यक्ष निर्मला रोकाय ले स्वच्छ ऊर्जा प्रविधिको प्रयोगले इन्धनको खपत घट्ने, वनमाथिको दबाब कम हुने, आर्थिक बचत हुने तथा घरभित्रको वायु प्रदूषण न्यूनीकरण भई नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताए।
गाउँपालिका का प्रशासकिय अधिकृत तप्त राज आचार्य ले स्थानीय सरकारले नागरिकको जीवनस्तर सुधार गर्ने यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ विस्तार गर्दै लैजाने जानकारी दिए।
बैकल्पिक उर्जा प्रबर्द्वन केन्द्र को प्रतिनिधि उत्सब सिजालि (सामाजिक परिचालक) का अनुसार तह ३ को सुधारिएको चुलो वितरण कार्य १० गते सम्म हुने, केही स्थानमा भने घरायसी बायोग्यास(गोबर ग्यास) ४ घ.मि. निर्माण कार्य भइरहेको छ भने विद्युतीय चुलो वितरणको तयारी चाहिँ आउने आर्थिक बर्ष मा हुने । उनका अनुसार स्वच्छ चुल्हो कार्यक्रमले बैजनाथ गाउँपालिका का घरपरिवारलाई आधुनिक, वातावरणमैत्री र स्वास्थ्यमैत्री भान्सातर्फ उन्मुख गराउने विश्वास गरिएको छ।