बाघ पनि कोरोनाको जोखिममा
Saturday, August 28th, 2021, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ भदौ
कोरोनाको जोखिममा बाँके र बर्दिया राष्ट्रिय निकुन्जका बाघहरुसमेत रहेको पाइएको छ । बाँके राष्ट्रिय निकुञ्जले शनिबार नेपालगन्जमा आयोजना गरेको एक कार्यशाला गोष्ठीमा राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दियाका प्रमुख डा.रविन कडरियाले कोरोनाको जोखिममा बाघहरु पनि रहेको जानकारी दिए ।
गत वैशाखको तेस्रो साता भारतको तेलंगाना राज्यको नेहरु जुलजिकल पार्कका ४ भाले र ४ पोथी सिंहमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । भारतीय कतरनिया वन्यजन्तु आरक्ष बर्दियाको सीमासँग जोडिएको, खाता जैविक मार्ग र गेरुवा क्षेत्रबाट पाटे बाघहरु नेपाल-भारत ओहोरदोहोर गर्ने गरेकोले जोखिम रहेको उनले बताए । अमेरिकामा पनि ८ वटा बाघ र सिंहमा कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् ।
‘भारतका बाघमा कोरोना देखिएको र त्यहाँबाट वन्यजन्तुको आवागमन भइरहने भएकोले यहाँका बाघमा पनि सर्ने खतरा छ,’ डा. कडरियाले भने ।
भारतीय आरक्षमा २८ वटा पाटे बाघ छन् भने खाता जैविक मार्ग क्षेत्रमा ६ वटा पाटे बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटे बाघ रहेको सन् २०१८ को गणनामा पत्ता लागेको थियो ।