फूलमा आत्मनिर्भर बन्न नसकेको बाँके
Monday, September 20th, 2021, 8:46 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, ३ असोज
फूल हरेक धर्म र समुदायको धार्मिक कार्य, चाडपर्वमा अनिवार्य हुन्छ । फूलबिनाको उत्सवमा उत्साह हुँदैन । हरेक कार्यक्रम, सभा, चाडपर्वलगायतमा फूलको माग हुने गरेतापनि बाँके जिल्ला फूलमा आत्म निर्भर भने हुन सकेको छैन ।
जिल्लामा हाल एकाधजना बाहेक अरुले पुष्प खेती गर्न सकेका छैनन् । जिल्लामा व्यवसायिक रुपमा पुष्प खेती सुरु हुन लागेका दुई वर्ष बढीमात्र भएको छ । फूलको माग पूर्तिका लागि पूणर्रुपमा काठमाडौं र भातीय बजारमा निर्भर रहेको बाँकेमा अन्य कृषि उत्पादन सरह पुष्प खेतीले फट्को मार्न सकेको छैन ।
हाल जिल्लामा उप्तादन हुने फूलले २५ प्रतिशतमात्र बजारको मागलाई पूर्ति गर्न सकेको व्यवसायीहरु बताउँछन् । कतिपय समयमा त जिल्लामा आवश्यक सबै फूल जिल्ला बाहिरबाट आयात हुने गर्छ । यस सिजनमा पनि जिल्लामा फूल उत्पादन भएको छैन । जिल्लाका व्यापारीहरुले हाल बजारमा माग हुने सबै फूलहरु काठमाडौं र भारतबाट आयात गर्ने गरेका छन् ।
हाल जिल्लामा फूल खेती भएतापनि तयारी भने शून्य रहेको लुम्बिनी फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (लुफान)की उपाध्यक्ष एवम् पुष्प व्यवसायी विन्दु चर्तीमगर बताउँछिन् । ‘अहिलेत बाँकेमा फूल खेती थोरैमात्रामा भएपनि भएको छ । तर हामीसँग तयारी फूल छैन । सबै जिल्ला बाहिरबाट आउने हो,’ उनले भनिन् ।
हिन्दूहरुको महान चार्ड दशैं, तिहार र छड पर्व नजिकिँदैछ । झन् यस समयमा फूलको अत्याधिक माग रहने गर्छ । जिल्लामा उत्पादन भएको फूलले सो समयको २५ प्रतिशतसम्म मागलाई पूर्ति गर्न सक्ने उपाध्यक्ष मगर बताउँछिन् ।
जिल्लामा अघिल्लो वर्षका तुलनामा यो वर्ष पुष्प खेती हुने क्षेत्रफल भने बढेको छ । अघिल्लो वर्ष चार्डपर्वमा माग भए बमोजिम १५ देखि २० प्रतिशतमात्र पूर्ति हुने गरेको मा यो वर्ष भने केही उत्पादन बढ्ने देखिन्छ ।
मगरका अनुसार गत वर्ष जिल्लामा दुईजनाले मात्र व्यवसायिक रुपमा पुष्प खेती गरेका । ‘अघिल्लो वर्ष हामीले लमसम एक बिघा क्षेत्रफलमात्र पुष्प खेती गरेका थियो । त्यसमा मैले १२ कट्ठा जतिमा फूल लगाएको थिए भने एकजना कोहलपुरकी विष्णु चौधरी ज्युले आठ कट्ठामा फूल लगाएकी थिइन्,’ मगरले भनिन् ।
जिल्लामा फूलको माग धेरै र उत्पादन कम भएका कारण यो वर्ष फूल खेती गर्ने महिलाहरुको संख्यामा वृद्धि भएको हो । यो वर्ष जिल्लामा दुई बिघा क्षेत्रफलमा पुष्प खेती भइरहेको छ । विशेष गरी आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर फूल खेती गरिएको फूल उत्पादनकहरु बताउँछन् । मगरका अनुसार यो वर्ष पुष्प खेतीमा केही नयाँ महिलाहरु पनि व्यवसायिकरुपले संलग्न भएका छन् ।
जिल्लालाई पुष्प उत्पादनमा आत्मनिर्भर गराउनका लागि कम्तीमा एक हेक्टर क्षेत्रफलमा फूल खेती गर्नुपर्ने व्यवसायीको भनाई रहेको छ ।
अरु चाडपर्वभन्दा तिहारमा फूलको बढी खपत हुने गर्दछ । विशेषगरी तिहारमा सयपत्री र मखमली फूलको बढी माग हुन्छ । यस वर्षपनि तिहारलाई लक्षित गरेर जिल्लाका पुष्प उत्पादकले गोदावरी, मखमली र सयपत्रीको उत्पादन गर्दै छन् । तर यो वर्ष वर्षात् बढी भएका कारण सोचेअनुरुपको फूल उत्पादन नहुने उत्पादकहरु बताउँछन् ।
पुष्प व्यवसायी विष्णु चौधरी र मगरले वर्षातका कारण रोपेका केही फूलका विरुवा मरेको र फूल पनि अलि कम उत्पादन हुने भएकाले उत्पादनमा कमी आउने बताएका छन् ।
गुलाबको शून्य उत्पादन
बाँकेमा थोरैमात्रामा अन्य फूल उत्पादन भएता पनि गुलाब फूलको उत्पादन भने शून्य रहेको छ । जिल्लामा गुलाबको उत्पादन नभएता पनि यसको माग धेरै रहेको छ । जिल्लाका सबै पुष्प व्यवसायी भारतबाट नै गुलाबको फूल आयात गर्ने गर्छन् ।
गुलाब फूलको अत्याधिक माग हुने प्रेम दिवशमा त झन् जिल्लामा गुलाबको फूल पाउनै गाह्रो हुने गरेका व्यापारीहरु बताउँछन् ।
मगर भन्छिन्, ‘अहिलेसम्म बाँकेमा गुलाबको फूल उत्पादन हुन सकेको छैन । गुलाबको फूलका लागि पूणर्रुपमा भारतसँग निर्भर हुनु परेको छ । हामीहरु फूल नै मागअनुसार उत्पादन गर्न सकेका छैनौ भने गुराबको फूल उत्पादन गर्नु त परको कुरा हो ।’
आम्दानीको राम्रो स्रोत
आर्थिक आर्जनका लागि फूल व्यावसाय निकै राम्रो व्यावसायका रुपमा मानिन्छ । छोटो अवधिमा चाडपर्वलाई लक्षित गरेर उत्पादन गरेको फूलबाट राम्रो आम्दानी हुने गरेको बताउँछन् यहाँका व्यावसायी । फूल उत्पादन गर्दै व्यावसाय संचालन गरिरहेकी मगर उत्पादन भएको फूललाई धेरै दिनसम्म राख्न गाह्रो भएतापनि यसबाट आम्दानीको स्रोत राम्रो बनाउन सकिने तर्क गर्छिन् ।
पुष्प खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यो वर्ष जिल्लामा थप १० जना पुष्प व्यवसायी थपिएका छन् । चर्ती फ्लोराको आयोजना र जीआईजेडको सहकार्यमा नेपालगन्ज उप-महानगरपालिका-२०, इमामनगरमा गत भदौ अन्तिम शाता १० जनालाई तालिम दिएर पुष्प खेती गर्न प्रोत्सान गरिएको छ ।
यसरी जिल्लामा पहिलोपटक पुष्प खेती तालिम दिएर पुष्प खेती गर्न लगाइएको हो । उनीहरुलाई तालिमपश्चात फूल खेती गर्न बिरुवा, मल र जैविक विषाधी उपलब्ध गराएको थियो ।
प्रदेश भने फूल उत्पादनमा अब्बल बन्दै
बाँके जिल्लामा फूल उत्पादन हुन नसकेपछि लुम्बिनी प्रदेश भने फूल उत्पादनमा अब्बल रहेको छ । प्रदेशका रुपन्देही, पाल्पा दाङलगायतका जिल्लामा ठूलोमात्रामा पुष्प खेती हुने गरेको छ । बाँके जिल्लाका व्यवसायीले सोही ठाउँबाट फूल आयात गर्ने गर्दछन् ।
प्रदेशमा उत्पादन हुने फूलले स्थानीय ६० प्रतिशतभन्दा बढी पूर्ति गर्न सकेको लुम्बिनी लुफानका अध्यक्ष एवम् फूल व्यवसायी रमेश पाण्डेय बताउँछन् ।
‘अहिले लुम्बिनी प्रदेशभित्र उत्पादन भएको फूलले यहाँको ६० प्रतिशत मागलाई पूरा गरेको छ । बाँकी ५० प्रतिशत भने भारत तथा बाहिरी जिल्लाबाट आउँछ,’ अध्यक्ष पाण्डेले भने ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सयपत्री फूलको उत्पादन हुने गरेको छ । विशेषगरी तिहारका बेला बढी खपत हुने सयपत्री र मखमली फूलको उत्पादनले भने यहाँको ८० प्रतिशत मागलाई पुरा गरेको छ । तर फूलहरु मौसम, ठाउँ र समयअनुसार फुल्ने भएकाले कतिपय फूलहरु माग भएपनि प्रदेशमा उत्पादन नभएके पाण्डेयले बताए ।
अहिलो प्रदेशमा सयपत्री फूल प्रतिकेजी चार सय रुपैयाँमा बिक्री भइरहेको छ भने मखमली फूल प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ ।
यसका साथै प्रदेशमा गुलाबको फूलको माग पनि अत्याधिक रहेको पाण्डेय बताए । तर लुम्बिनीमा प्रदेशमा गुलाबको खेती एकदमै न्यून मात्रामा हुने गरेको छ ।
पुष्प खेतीमा सरकारको शून्य चासो
लुम्बिनी प्रदेशलाई फूलमा पूणर् आत्मनिर्भर बनाउन सरकारले साना कृषकलाई मध्यनजर गरेर बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने लुफानकी उपाध्यक्ष मगर बताउँछिन् । लुफानका अध्यक्ष पाण्डे सरकारले पुष्प व्यवसायी र उत्पादकलाई आधुनिक तालिम, गोष्ठी तथा अनुदानको व्यवस्था गर्नुपर्ने बताउँछन् ।
स्थानीय निकायको पुष्प खेतीमा कुनैपनि चासो भएको देखिँदैन । चौधरी फूल उत्पादनमा सरकारले सहयोग गर्ने हो भने फूल व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने बताउँछिन् ।
अध्यक्ष पाण्डे व्यवसायीले आफ्ना समस्या र समाधानका लागि आफैं लड्नु पर्ने बाध्यता रहेको गुनासो गर्छन् ।