करबला व्यवस्थापन समितिले पायो आधिकारिकता
Tuesday, October 5th, 2021, 6:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असोज
नेपालगञ्ज उप-महानगरपालिका १७ स्थित सहादत मस्जिद इदगाह करबलामा १६ वर्षपछि बनेको व्यवस्थापन समितिले आधिकारिकता पाएको छ । कौसर अलि वेहनाको अध्यक्षतामा बनेको नयाँ कार्यसमिति जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको छ ।
यसअघि अध्यक्ष रहेका निजामुद्दिन इद्रिशीले प्रशासनमा मस्जिदलाई संस्थागतरूपमा दर्ता नगराई व्यवस्थापन समिति भन्दै व्यवस्थापनको काम ओगटेर बसेका थिए । व्यवस्थापन समितिमा रहेर पनि करबलाको व्यवस्थापन अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उनलाई विस्थापित गरेर नयाँ नेतृत्व चयन गरेका थिए ।
उनले मदरसा मस्जिद इदगाह कब्रस्तान र करबलालाई आफ्ना पुर्खाले जग्गा दान दिएको भन्दै आफ्नो निजी भन्दै आएका छन् । तर उक्त संस्थाको सम्पत्ति गुठी संस्थान अन्तर्गत रहेको भन्दै संस्थानले जिल्ला प्रशासनलाई जानकारी गराए पछि व्यवस्थापन समिति दर्ता भएको हो ।
अध्यक्ष कौसर अलि वेहनाले जिल्ला प्रशासनले आधिकारितका पुष्टि गरेर आफूहरुको समितिलाई वैधानिकता दिएको भन्दै धन्यवाद ज्ञापन गरे ।
समितिको उपाध्यक्षमा सज्जन अलि सल्मानी, कोषाध्यक्षमा मन्सुर अलि दर्जी, सचिवमा इसराइल सेख, सदस्यहरुमा मकसुद अलि दर्जी, रज्जब अलि बेहना, गजफ्फर अलि दर्जी, रसिद अलि दर्जी, रफिक धोवी, आरिफ बागवान र अजय कुमार पाठक रहेका छन् । कार्य समितिमा ११ जना छन भने एक सय ३५ जनाको उपस्थितिमा वडाअध्यक्ष अजयकुमार पाठकको रोहवरमा नयाँ कार्यसमिति चयन भएको थियो ।