बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता: ब्रोदर्स र अप्सरा विजयी
Wednesday, October 14th, 2026, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ असोज
बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार सम्पन्न खेलमा ब्रोदर्स एफसी र एफसी विजयी भएका छन् । न्यू डाँफे स्पोर्ट्स क्लब खजुराको आयोजनामा असोज २५ देखि सञ्चालन भइरहेको प्रतियोगितामा बुधबार सम्पन्न पहिलो खेलमा ब्रोदर्स एफसीले ३ – ० अन्तरले चन्द्र ज्योति स्पोट्स क्लबलाई पाखा लगाउँदै जित निकाल्यो ।
ब्रोदर्स एफसीका तर्फबाट जर्सी नम्बर १७ का विपिन सिजालिले २ र जर्सी नम्बर ७ का समीर विकले थप गोल गर्दै जित सुनिश्चित गरेका थिए । बुधबार सम्पन्न दोस्रो खेलमा एफसी अप्सरा कोहलपुर विजयी बन्यो । खेलको निर्धारित समयसम्म दुवै टिमको गोल २- २ भएपछि खेल ट्राईबेकरमा गएको थियो । खेल अवधि सम्म एफसी सिमलघारिको तर्फबाट जर्सी नम्बर ९ का गोपाल रावलले र जर्सी नम्बर ४ का अरुण नेपालीले गोल गरे । अप्सरा एफसीका जर्सी नम्बर ७ का दिवस खड्काले गोल गरे । एक गोल एफसी सिमलघारिका खेलाडी आत्मघाती गोल हुँदा खेल बराबरीमा पुगेको थियो । ट्राईबेकरमा ७-६ को अन्तरले एफसी अप्सरा विजयी बनेको क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रिले जनाए ।
क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगिले जनाए । दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए । असोज २५ देखि सुरु भएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने छ ।