असमयको वर्षाले धानमा ठूलो क्षति
Monday, October 18th, 2021, 6:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ कात्तिक
बाँके लगायत लुम्बिनी प्रदेश र सुदुपश्चिम प्रदेशमा वर्षाका कारण धानबालीमा क्षति पुगेको छ । दशैंसँगै धानबाली भित्र्याउन व्यस्त किसानहरुमा वर्षाले चिन्ता थपिदिइएको छ । वर्षा अझै दुईसम्म हुने अनुमान गरिएको छ । प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कणर्ाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको हो ।

पानीले ढालेका धानबाली /साभारः किसान आवाज
दशैंअघि पनि काट्न तयार धान मनसुन नरोकिएका कारण किसानहरुले काट्न पाएका थिएनन् । दशैंलगत्तै धान काट्ने तयारीमा रहेका किसानहरु अहिले पुनः पानी पर्न थालेपछि थप तनावमा परेका छन् ।
हावाहुरीसँैगै परेको पानीले काट्न तयार धान ढलेका छन् भने काटिसकेका धान खेतमै डुबेका छन् ।
केही दिनअघि पनि केही धान ढलायर नोक्सानी पुगाएको थियो भने अहिले परिरहेको पानी र हावाका कारण बाँकी रहेका अधिकांश भागमा रहेका धान ढलाएको छ । पाकिसकेको धान भित्र्याउन नपाउँदै पानी र हावाले ढलाउँदा किसानहरुलाई ठूलो नोक्सानी पुगेको छ ।
खेतमै डुबेको धान कुहिने चिन्ता किसानलाई छ । कोहलपुर नगरपालिका-१५ का किसान नारायणप्रसाद थारुले अचानक आएको पानीले किसानहरुलाई नोक्सान गरेको बताए । ‘काटिसकेको धान कुहिने चिन्ता एकातिर छ । अर्कोतिर नकाटेको धान पनि पानीले ढालेर सबै भिजिसकेको छ,’ उनले भने । नारायणले केही दिनअघि बाटेको करिब ६ कठ्ठाको भान पुरै पानीमा डुबेको गुनासो गरेका छन् । उनका अनुसार धान बाली मात्रै नभई वर्षाले तरकारी बालीमा पनि नोक्सानी गरेको छ । तरकारीमा बेर्नाहरु पानीले बिगारीदिएको नारायणले बताए ।
भिजेको धान कुटाई गर्दा काटिने ,कनिका पर्ने, स्वाद कम गराउने किसानहरु बताउँछन् । अन्तमा यसको असर धानको मुल्यमा पर्ने उनीहरुको भनाइ छ ।