आज मोहम्मद डे मनाइँदै
Tuesday, October 19th, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ कात्तिक
आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) मनाइँदै छ । इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएका छन् ।
आज नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको र उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । उनका अनुसार मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
साथै नेपालगन्जमा बाजागाजासहित जुलुस पनि निकाल्ने गरिन्छ । उक्त अवसरमा नेपालगन्जको ट्राफिक व्यवस्थापन केहीबेर प्रभावित हुने छ । पर्वका अवसरमा सरकारले मुस्लिम समुदायका लागि विदा दिएको छ । बाँकेका जानकी, नरैनापुर र डुडुवा गाउँपालिकाले पनि मोहम्मद डेका अवसरमा सार्वजनिक विदा दिएका छन् ।