बर्दियामा भयावह बाढी : कर्णालीको सतह १२ मिटर माथि
Tuesday, October 19th, 2021, 1:51 pm
Kalpristha
नेपालगन्ज, २ कात्तिक
लगातारको वर्षापछि बर्दियामा बाढी आएको छ । कर्णाली नदीमा पानीको सतह बढेर बाढी गाउँ पसेको हो ।
चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङका अनुसार मंगलबार दिउसो १ः३० बजेको समयमा कर्णाली नदीको चिसापानीमा पानीको बहाव १२ दशमलब ०५ मिटर पुगेको छ । यो नदीमा पानीको बहाव १० दशमलव ८० मिटर पुगेपछि खतरा मानिन्छ ।

बर्दियामा बाढी फोटोः लक्ष्मण ढुंगाना
बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले खतराको तहभन्दा निकै माथि पानीको सहत पुगेपछि बाढीको जोखिम भयावह बनेको बताए । मुख्यगरी राजापुर र गेरुवा नगरपालिकाका अधिकांश क्षेत्रमा बाढी पसेको उनले बताएका छन् । प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारको पहलमा स्थानीय स्तरमै उद्धार तथा सुरक्षाको काम भइरहेको उनको भनाइ छ । प्रजिअ सुनारका अनुसार बाढीबाट क्षति हुन नदिन सतकर्ता अपनाउन स्थानीयलाई आग्रह गर्नुका साथै स्थानीयको उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएको छ ।
नदी तटिय क्षेत्रका सनकट्टी, टीहुनी, दौलतपुर, तिघ्रा, राजापुरलगायतका स्थानमा बाढी गाउँ पसेको छ । राजापुर नगरपालिका १ दौलतपुरस्थित चनौरा, सोनाहागाउँ, दौलतपुर, सोनपुरलगायतमा बाढी गाउँ पसेको स्थानीयवासी पत्रकार लक्ष्मण ढुंगानाले जानकारी दिए ।

बर्दियामा बाढी फोटोः लक्ष्मण ढुंगाना
बाढीले पाकेर काटिसकेको धानका साथै काट्न ठिक्क परेको धानमा ठूलो क्षति पुगेको छ । यसैगरी वस्तुभाउ र चौपायाहरुमा पनि क्षति पुगेको जानकारी आएको प्रजिअ सुनारले बताए ।
बेमौसमी वर्षाका कारण हिउँद याम सुरु हुनै लाग्दा कात्तिक महिनामा कणर्ाली नदीमा यसबर्षकै उच्च पानीको सतह बढेको हो ।