मेडिकल कलेजका कर्मचारीहरु सरकारी समितिको पर्खाईमा
Monday, October 25th, 2021, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ कात्तिक
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको समस्या समाधानमा ढिलाई भएको छ । आन्दोलनरत कर्मचारीहरुको माग व्यवस्थापन पक्षले ठाडै अस्वीकार गरेको छ । कर्मचारीहरु आन्दोलनमै रहँदा सेवाग्राहीहरु भने मर्कामा परेका छन् ।
आन्दोलनरत कर्मचारीहरु मन्त्रालयले गठन गरेको समितिको पर्खाईमा रहेको बताउँछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यस्थता समिति गठन गर्ने नाममा आफूहरुलाई झुलाएको कर्मचारीहरु बताउँछन् ।
करिब चार वर्षदेखि श्रम कार्यालय बाँकेमा परेका उजुरीको छिनोफानो हुन नसकेपछि र कर्मचारीहरुले तलब भत्ता बृद्धिको माग राखेर आन्दोलन घोषणा गरेपछि मन्त्रालयले गत १८ असोजमा उप-सचिव भोलानाथ गुरागाइँ संयोजक रहेको ३ सदस्यीय मध्यस्थ समिति गठन गरेको थियो । तर, गठन भएको समिति हालसम्म आफूहरुको सम्पर्कमा नआएको आन्दोलन समितिका सह-संयोजक मुनिर खाँले बताए ।
कर्मचारीहरु इमरजेन्सी बाहेकको सबै सेवा ठप्प पारेर ८ दिनदेखि आन्दोलनमा छन् । कलेज व्यवस्थापनले कर्मचारीहरुले राखेका आर्थिक व्ययभार थपिने कुनैपनि माग पूरा गर्न सक्ने स्थिति नभएको सार्वजनिकरुपले बताइसकेको छ । कर्मचारीहरु पनि मागमा टसमस भएका छैनन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारीले समिति गठनबारे आन्दोलनरत कर्मचारीहरुलाई जानकारी गराएका थिए । तर समितिका मानिसहरु नेपालगन्ज अझै आइपुगेका छैनन् । श्रम कार्यालय नेपालगन्जका प्रमुख रुद्रनारायण शाहले केही दिनमा टोली बाँके आइपुग्ने बताएका छन् ।
मध्यस्थ समिति आएर माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने सह-संयोजक खाँले बताए ।
नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरी झन्डै ११ सय कर्मचारीहरु सात बुँदे साझा मागका साथ आन्दोलन गरिरहेका छन् । उनीहरुले ५ वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा गर्नुपर्ने, सामाजिक सुरक्षा कोष, उपदान, बिमा र शेयर उपलब्ध गराउनुपर्ने, स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा वृद्धि हुनुपर्ने, हाजिर र विदा थप व्यवस्थित हुनुपर्नेलगायतका सात बुँदे माग राखेका छन् ।