न्यायपालिकाको विवादमा कांग्रेस तटस्थ छ : नेता विश्वकर्मा
Friday, October 29th, 2021, 7:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ कात्तिक
नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले स्वतन्त्र न्यायपालिकाभित्रको विवादमा नेपाली कांग्रेस तटस्थ बस्ने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल दलित संघ बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि अहिले पास हुने अवस्था नरहेको दावी गरे ।
उनले भने, ‘न्यायालयको विषयमा कांग्रेस तटस्थ छ, संसदमा हाम्रो बहुमत पनि छैन, यदि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भइहालेपनि पास हुने अवस्था छैन ।’
नेपाल दलित संघका केन्द्रिय सभापति समेत रहेका विश्वकर्माले नेपाली कांग्रेसको सरकार आएपछि दलितका मुद्दा हेर्नलाई देशभर ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दलित हेल्प डेस्क स्थापना गर्न सफल भएको पनि जानकारी दिए ।
यस्तै प्रहरी संगठनभित्र मर्यादित शब्द बोल्नुपर्ने कुरालाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको र थरका नामबाट पनि नागरिकता लिन पाउने व्यवस्था ल्याइएको उनले बताए । पार्टीको आसन्न १४ औं महाधिवेशनमा दलित, जनजाती, आदिवासी, खस आर्य, मधेशी, मुस्लिम, पिछडिएका समुदायको उल्लेख्य प्रतिनिधित्व गराउनुपर्ने उनले बताए ।
नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण विकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपाल दलित संघका केन्द्रिय उप-सभापति कृष्ण विक रसाइली, संविधान सभा सदस्यद्वय मैकुलाल वाल्मिकी र नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख उमा थापामगर लगायतले बोलेका थिए ।